आप्रवासनको सवालमा सरोकारवालाहरुको भुमिका विषयक सम्वाद सम्पन्न
वि.सं.२०८० पुस ८ आइतवार
shares
धादिङ। आप्रवासनको सवालमा सरोकारवालाहरुको भुमिका विषयक सम्बाद कार्यक्रम आज धादिङको थाक्रेमा सम्पन्न भएको छ । हरेक महिना लाखौको संख्यामा युवाशक्ति विदेश पलायन भईरहेको अवस्थामा आप्रवासनलाई मर्यादित, व्यवस्थित बनाउन, स्वदेशमा उपयुक्त वातावरण र अवसर निर्माण गरी युवाहरुलाई यही अड्याउनु आजको टड्कारो आवश्यकता बन्दै गएको परिबेशमा आप्रवासीहरुको परिवारसंग सम्बाद गर्ने उद्धेश्यले यस कार्यक्रमको आयोजना गरीएको हो ।
देशको अर्थतन्त्र धान्ने एक बलियो आधार बैदेशिक रोजगार बनिरहेको अवस्था छ । सफल परदेशीहरुको परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । बैदेशिक सिप,ज्ञान स्वदेश भित्रिएका छन् । विदेशीभुमिमा नेपालीहरुले आफ्नो विज्ञता क्षमता प्रस्तुत गरी कतिपयले नेपाललाई चिनाउने काम समेत गरीरहेका छन् । बैदेशिक रोजगारको सकारात्मक पाटो संगै यसले परिवार समाजमा नकारात्मक प्रभाव पनी पारीरहेको छ । रेमिट्यान्सको दुरुपयोग,पारीवारीक कलह, विखण्डन, मानसिक समस्याहरु बढ्दै गईरहेको छ । बैदेशिक रोजगारको कारण सृजित समस्याहरुले परिवार, समाजमा दिगो शान्ति स्थापना गर्न अवरोध गर्ने हुँदा नकारात्मक प्रभावलाई नियन्त्रण गर्नु अपरिहार्य भएको छ ।
यसै सन्दर्भमा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपालले बैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारहरुसंग आज सम्बाद कार्यक्रम आयोजना गरेको हो । २० देखि १५ बर्ष उमेर समुहका युवाहरु गाउँमा पातलिदै गएका छन् । यसप्रति सरकार गम्भिर हुनुपर्ने सहभागीहरुले बताएका छन् ।
जग्गाको वर्गीकरण गरी माटो अनुसार उब्जनी हुने फलफुल,अन्नबाली,तरकारी खेती तर्फ प्रोत्साहन गर्नु आवश्यक छ । सरकारले असली कृषक पहिचान गरी मलबिउ बिजनको व्यवस्था, अनुदान,बिमा, बजार व्यवस्थापनमा सहयोग गर्नु आवश्यक छ । बिदेशी आयातलाई रोकेर स्वदेशी तरकारी, अन्नबाली, कुखुरा बाख्राको बजारमा बिक्रि वितरणलाई प्राथमिकता दिनु आवश्यक छ । विकास निर्माणका काममा दक्ष जनशक्तिलाई विना विभेद श्रममा लगाउन आवश्यक छ । योग्यता र विज्ञता अनुरुप अवसर र पारीश्रमिकको व्यवस्था हुनु आवश्यक छ । यी कार्यहरु सरकारले प्रभावकारी तबरबाट गर्ने हो भने युवाहरुलाई यही अड्याउन सकिने सहभागीहरुले बताएका छन् ।
नेपालबाट जाने अधिकांश युवाहरु खाडीका मुलुकहरुमा गएका छन् । दिनमा एक हजार मात्र आम्दानी हुने अवसर दिने हो भने मात्र पनी ति खाडी मुलुकमा जाने जनशक्ति नेपालमा अड्याउन सकिन्छ तर सरकारले यता तर्फ ध्यान नदिएको कारण मिनिमम आम्दानी गर्न पनी विदेश जानै पर्ने बाध्यतात्मक अवस्था सृजना भईरहेको सहभागीहरुले बताएका छन् ।
सिड्स नेपालले विगत २८ वर्ष अगाडी देखि समुदाय विकास,सचेतना प्रवाह, क्षमता अभिवृद्धि, सवाल सम्बोधन र समुदायमा विद्यमान सवालहरुप्रति सम्वन्धित निकायलाई जिम्बेवार बनाउन,सहकार्यात्म अभ्यासद्धारा कार्य गर्न आवश्यक वकालत र पैरवी गर्ने कार्य अनवरत गर्दै आईरहेको छ ।



























