कतिन्जेल झुठो आश्वासन बाँडेर पदमा बसिरहनु हुन्छ, अर्थमन्त्रीज्यूँ ? 

19.1K
shares
Nabil bank

 

भनिन्छ कि, झुठो टिक्दैंन, सत्य लुक्दैंन । अर्थमन्त्री डा.प्रकाशशरण महतले केही दिनअघि अर्थतन्त्र लयमा फर्किएको र घरजग्गा, सेयरको मूल्य पनि अब नघट्ने दाबी गरेका थिए । तर, उनको यो कुरा केही दिन पनि टिक्न सकेन । सेयरमा फेरि पनि गिरावट आउन थालिसकेको छ ।

 

घरजग्गाको त झन् कुरै छोडौं । मानिसहरुलाई कसरी आफ्नो घरजग्गा बेचेर बैंक तथा वित्तिय संस्थाको ऋण तिर्नुजस्तो भइरहेको छ । मालपोत कार्यालयमा अंशबण्ड बाहेक घरजग्गा किनबेच हुन्न । मालपोतका कर्मचारीहरु कार्यालयमा हिटर तापेर बसेका हुन्छन् ।

 

त्यस्तै, मालपोत कार्यालयमा लेखनदास गर्ने वा कानून व्यवसायीहरु पनि काम नभएपछि भाडा तिर्न नसकेर बसाइ सरेका छन् । बजारमा घरजग्गा बेच्न चाहने यत्तिकै भेटिन्छन् । चाँहे त्यो चिया पसलमा नै होस् या भट्टी पसलमा ।

 

अहिले त सार्वजनिक यातायात र स्थलमा समेत मानिसहरु आफ्नो घरजग्गा किनिदिने खोजिदिनुस् भन्दै हिँिडरहेका हुन्छन् । बुढोपाकाले भन्थे, ‘एउटा नबिग्री, अर्को सर्पिदैंन ।’ एक साताअघि सेयरको मूल्य हवात्तै बढ्यो । सर्वसाधारणमा भ्रम सिर्जना गरियो कि अब सेयर लयमा फर्कियो ।

 

तर, सीमित दलालीहरुले आफ्नो सेयर बेच्नेको लागि यो रणनीति अपनाएको आम जनताले बुझेनन् । ती दलाली त आफ्नो सेयर महंगोमा बेचेर गइहाले तर त्यो महंगोमा सेयर किन्ने व्यक्ति अब डुब्नेछ । फेरि बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर भनेर थाहा हुँदाहुदैं २१ सयदेखि चार सयमा किनिन्छ भने त्यो व्यक्ति नडुबे अरु को डुब्छ ?

 

आनाको ५० हजार नजाने जमिनलाई ५५ लाखमा किनिन्छ भने त्यो मानिस नडुबे अरु को डुब्छ ? उता, भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँ २० लाखमा किनिन्छ । अनि त्यो व्यक्ति नडुबे अरु को डुब्छ ? बुढोपाकाले भन्थे कि भिरमा जाने गोरुलाई राम राम मात्र भन्न सकिन्छ ।

 

घरजग्गा, गाडी र सेयर दलालीहरुले आफ्नो स्वार्थको लागि सर्वसाधारणलाई फसाउँदै आएका थिए । जब सञ्चारकर्मीहरुले सर्वसाधारणको आँखा खोलिदिए, तब यस्ता ठगको कमाइमा गिरावट आयो । आम नागरिक ठगिनबाट जोगिए । यता, जो व्यक्तिले दलालीको लौंलौंमा लागेर महंगोमा घरजग्गा, गाडी र सेयर किनेको थियो, ऊ त डुबि नै हाल्यो ।

 

अब त्यो व्यक्ति कहिल्यै उक्सिन लाग्न सक्दैंन । मौद्रिक नीतिका कारण सेयरको कारोबार बढ्यो भन्दै दलालीहरुले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई धन्यवाद दिए । उनीहरुले केक समेत कोटेर खाए ।

 

तर, उच्च बिन्दुमा पुगेको सेयर दुई साता पनि टिक्न सकेन । बिडम्बना, ती दलालीहरुको खुशी केही क्षणको मात्र हुन पुगेको छ । अहिले सेयरको मूल्यसँगै कारोबार रकम पनि घट्दो छ । अर्थमन्त्री महत दलालीहरुको कार्यक्रममा जान्छन् अनि उनीहरुलाई खुशी बनाउन र जनतामा भ्रम छर्न अर्थतन्त्र लयमा फर्किएको र घरजग्गा, गाडी र सेयर पनि पहिलाकै अवस्थामा फर्किएको बताउँछन् ।

 

आफ्नो पद जोगाउनका लागि अर्थमन्त्री महतले यस्तो रणनीति अपनाइरहेका छन् । कतिपय अर्थविद् खुलेर भनिसकेका छन् कि मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो । बैंक तथा वित्तिय संस्थासंगै व्यक्तिको सबै पैसा घरजग्गा, गाडी र सेयरमा फस्यो । बच्चादेखि बुढालाई थाहा छ कि सय रुपैयाँको सेयर पाँच हजार पुप्याउने दलाली हो ।

 

एक लाखको जग्गा करोड पुप्याउने पनि दलाली नै हो भने एक लाखको गाडी बीस लाख पुप्याउनुमा पनि दलालीकै हात छ । घरजग्गा, गाडी र सेयरमा भएको लगानीले न राज्यलाई राजस्व आएको छ न जनतालाई केही राहत भएको छ । सीमित व्यक्तिहरुले आफ्नो फाइदाको निम्ति मूल्य बढाएका थिए ।

 

अर्थविद्, विज्ञहरुले पनि समयमै घरजग्गा, गाडी र सेयरमा लगानी नगर्नु भनेर सचेत नगराउँदा आज व्यक्तिसँगै बैंक तथा वित्तिय संस्था डुबेका छन् । बजारमा दुई वटा कुरा जताततै सुनिन्छ ।

 

एउटा पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सेयरमा लगानी गर्नु जुवा खेल्नु बराबर भएको भनेको र अर्को तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउन समेत विदेशीसँग हात थाप्नु परेको भनेको कुरा अहिले जनता सम्झिन्छन् ।

 

तीन वर्षअघि पाँच करोडमा किनेको घडेरी अहिले करोडमा बिक्री नभएको पनि बजारमा सुनिन्छ । अब बजार कसले उचाल्ने ? फेरि कसरी बढ्छ घरजग्गा, गाडी र सेयरको मूल्इ ? मूल्य बढाउने दलालीहरु बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न नसकेपछि भागेका छन् ।

 

कतिपयले आत्महत्या समेत गरे त कतिपय लुकिछिपी बाँकी जीवन कटाइरहेका छन् । जो व्यक्तिसँग पैसा थियो, उसले बैंक तथा वित्तिय संस्थाबाट आफ्नो रकम निकालेर घरमा लुकाइसकेको छ । करोड बचतकर्ताको खर्बो रकम त सहकारी र लद्युवित्तले डुबायो ।

 

अहिले बैंकबाट कर्जा लिएर घरजग्गा, गाडी र सेयर किन्नेहरु कित्ता तिर्न नसकेपछि तनावमा छन् । उनीहरु आफ्नो धितो बेच्न लागिपरेका छन् । तर, किनिदिने चाँहि कसले ? फेरि बैंक आफैंले लिलाम गरेको घरजग्गा, तानेको गाडी र सेयर पनि किन्ने कोही पाउँछ कि भनेर बैंकका कर्मचारी खोज्दैं हिडेको पनि पाइन्छ ।

 

सहकारी सबै डुबेर भागिहाल्यो । सहकारीमा बचत गरेका बचतकर्ताहरुको बिल्लीबाँठ भएको छ । सहकारीकै कारण कतिपयको घरपरिवार तहसनहस हुन पुग्यो त कतिपयले आत्महत्या समेत गर्नुपुग्यो । सरकारले आगामी चैत्र मसान्तभित्र सहकारीलाई बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

 

तर, सबै सहकारी त भागिसक्यो । अनि कसरी बचतकर्ताको रकम फिर्ता हुन्छ ? नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले देउराली र शिवशिखर सहकारीका अध्यक्षसहित कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा सहकारीको सम्पूर्ण बचत रकम घरजग्गा, गाडी र सेयरमा लगानी गरिएको खुलेको छ ।

 

सहकारी राजधानीमा तर बचत फिर्ता माग्दा अध्यक्ष काभ्रेको जग्गा लिनुस् भन्छ भनेर बचतकर्ताहरु बताउँछन् । अर्कोतर्फ लाख नपर्ने जग्गा ३५ लाख भनिन्छ । अनि त्यो जग्गा लिएन भने बचत माया मार्नुपर्छ । यो त उदाहरण मात्र हो । अहिले सबै सहकारीमा यस्तै भइरहेको छ ।

 

सहकारीका अध्यक्ष, कर्मचारीले बचत फिर्ता गर्नुको साटो दुर्गम जिल्लाको जमिन त्यो पनि महंगोमा भिडाउने गरेको बताइन्छ । सहकारीले करोडौं बचतकर्ताको रुवाबासी बनाएको छ । उनीहरु घर न घाटको भएका छन् । बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य बढ्ने आधार नै छैन ।

 

उपत्यकाभित्र तथा बाहिर ७५ प्रतिशतभन्दा बढी कोठा, सटर र फ्रल्याट खाली भएका छन् । बाटोमा मानिसको चाप पहिलाजस्तो छैन । दुई वर्षअघि दिनमै लाखौं व्यापार हुने पसलमा अहिले बहनी हुन्न । उपत्यकाका विभिन्न व्यापारिक स्थलमा व्यापारीहरु सित्तैमा सामान दिनेझैं बोलाइरहेका छन् ।

 

काठमाडौं उपत्यका यस्तो ठाउँ हो, जहाँ एक वर्षसम्म कोठा, सटर र फ्रल्याट खोजेपनि पाइदैंन थियो । दलाली लगाउनु पर्दथ्यो । अनि मात्र कोठा, सटर र फ्रल्याट पाइन्थ्यो । त्यो पनि महंगोमा । पछिल्लो समय उपत्यकाका जुनसुकै ठाउँमा कोठा, सटर र फ्रल्याट खाली देखिन्छन् ।

 

झप्याल, ढोका वा भित्तामा घरधनीहरुले ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘फ्रल्याट भाडा’मा लगायत लेखेर टाँसेको देखिन्छ । बजार पूरै मन्दीमा छ । तर, अर्थमन्त्री महत अझै पनि अर्थतन्त्र ठिकठाक रहेको भन्दै भाषण गर्दै हिँडेका छन् । सरकारी स्वामित्व महालेखा परीक्षकको कार्यालयले राज्यको आम्दानीभन्दा खर्च दोब्बर÷तेब्बर रहेको तंथ्याक सार्वजनिक गरिसकेको छ ।

 

मन्त्रिपरिषद् बैठक सातामा दुई पटक सोमबार र बिहिबार बस्ने गरिन्छ । तर, बैठकैपिच्छे विदेशी ऋण स्वीकृत गरिन्छ । विदेशी ऋण २७ खर्ब पुगिसकेको छ । यो हाम्रो देश धितो राखेर सरकारले लिएको हो । अहिले प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ ।

 

विदेशीसँग लिएको ऋणको साँबाब्याज तिर्न सरकारसँग कुनै आम्दानीको स्रोत छैन । यता, सरकारी कर्मचारी र जनप्रतिनिधको तलबभत्ता र सेवासुविधा पनि सरकार कटौती गर्दैन । अहिले अशिक्षित, गरिब व्यक्तिलाई समेत मुलुक संकटमा परेको थाहा भइसकेको छ । तर, अर्थमन्त्री महत भने अझै मुलुकको अर्थतन्त्र लयमा फर्किएको बताउँछन् ।

 

एकातिर बेरोजगारी, अर्कोतिर महंगी । यसको बीचमा फसेका छन् सर्वसाधारण जनता । सरकारले आफ्नो देशको जनतालाई देशमै रोजगारीको व्यवस्था मिलाउन सकेन । जसले गर्दा युवाहरु विदेशिन बाध्य भए । तर, विदेश गएर आफ्नो घरपरिवार पाल्ने सपना सजाएका दुई युवकको सरकारले नै गोलीबाटै हत्या गरिदियो ।

 

मंसिर महिनामा मात्र ७५ हजार नेपाली युवा रोजगारीका लागि विदेशिए । यो क्रम बढ्दो छ । अनि नेपाली जनतालाई बेचेर र मारेर कहिलेसम्म पदमा बसिरहने अर्थमन्त्रीज्यूँ ? अझै पनि नैतिकता छ भने तत्काल राजीनामा दिनुस् । नत्र जनता आफैंले तपाईंलाई देशबाट लेखट्ने छन् । महतको नेपाली र अमेरिकन दुवै नागरिकता र राहदानी रहेको पनि बताइन्छ ।

 

महतले बोलेको न जनताले बुझ्रछन् न उनीसँग जनता र राष्ट्रको लागि काम गर्ने क्षमता नै छ । न त महत जनताबाट चुनिएका नै छन् । सभापति देउवाको गुलामी गरेर जनतालाई विदेशमा बेच्न, गोली हानेर हत्या गर्न र देश डुबाउन पाइन्छ ? अब पनि महतले जनतासँग माफी मागेर अर्थमन्त्री पद नछोडी श्रींलकाका जनताले राष्ट्रपति लखेटेझैं नेपाली जनताले तपाईंलाई लखेटन्े छन् ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x