हरेक व्यवसायीबाट ठगिँदै विदेशी पर्यटक, के हेर्दैछ सरकार ? 

 

विदेशी पर्यटक नेपालीका लागि पाहुना हुन् । घुमफिर गर्न, नेपाल हेर्न, यहाँको संस्कृति बुझ्न उनीहरु आउँछन् । हामीहरु ‘अतिथि देवः भव’ भन्छौं । विदेशी पर्यटकको सुरक्षा गर्नु सरकारको दायित्व हो । मुलुकमा जति धेरै विदेशी पर्यटक भित्रिन्छन्, त्यति नै फाइदा हुन्छ । विदेशी मुद्रा भित्रिन्छ, अर्थतन्त्रमा टेवा पुग्छ ।

 

त्यसैले विदेशी पर्यटकलाई नेपाल ल्याउन र यहाँ बस्ने वातावरण बनाउन सरकारदेखि लिएर व्यापारीसम्मले हातेमालो गर्नुपर्छ । तर, विदेशी भन्नेबित्तिकै व्यापारीहरुको दिमागमा ठग्ने सोच आउँछ । विमानस्थल ओर्लेदेखि नै विदेशीहरु ठगिन थाल्छन् । पहिले ट्याक्सीबाट ठगिन्छन् ।

 

मीटरमा जाँदा एक हजार रुपैयाँ पर्ने बाटोमा पाँच हजार रुपैयाँसम्म लिन्छन् । होटल व्यवसायी पनि त्यस्तै । नेपालीलाई लिनेभन्दा दोब्बर शुल्क उनीहरुले विदेशीबाट उठाउँछन् । ठमेल, बौद्ध, स्वयम्भुलगायतका क्षेत्रमा मालालगायत विभिन्न सामान बेच्दै आएकाले पनि विदेशीलाई लुट्छन् ।

 

विदेशीलाई सुविधा दिनु र राम्रो व्यवहार गर्नुको साटो ठग्नतिर व्यवसायीहरु सोचमग्न हुँदा अन्तर्राष्ट्रिय स्तरमै नेपालको नराम्रो ‘इम्प्याक्ट’ परिरहेको छ । सार्वजनिक यातायातमा पछिल्लो समय विदेशीहरु व्यापक देखिन्छ । बस, माइक्रोबसमा विदेशीहरु यात्रा गरिरहेको हुन्छन् ।

 

उनीहरु झुण्डिएर यात्रा गरिरहेको देखिन्छ । तर, कुनै पनि नेपाली यात्रुले उनीहरुका लागि सीट छोड्दिदैनन् । विदेशीलाई सहयोग गर्नु नेपाली जनताको पनि दायित्व हो । यद्यपि, नेपाली त्यस्तो गर्दैनन् । जसले गर्दा नेपालीहरु असहयोगी भएको छवि बनेको छ । अधिकांश सहचालक र चालक अशिक्षित छन् ।

 

उनीहरु अंग्रेजीमा बोल्न सक्दैनन् । विदेशीहरुले केही सोधे भने उनीहरु जवाफ फर्काउन सक्दैनन् । विदेशीले नक्सामा ठाउँ सोध्दा उनीहरु चुपचाप बस्छन् । विदेशीले के सोध्यो ? उनीहरु बुझ्दैनन् । नेपाली यात्रुले सार्वजनिक यातायात चढ्नेबित्तिकै पाँच सय वा हजारको नोट दियौं भने झर्ने बेलासम्म सहचालकले फिर्ता गर्दैन् ।

 

पटकपटकभन्दा बल्लतल्ल फिर्ता दिन्छन्, त्योपनि ओर्लिसकेपछि । नोटहरु च्यातिएका हुन्छन् । तोकिएको जति भाडा काटेर फिर्ता दिनुपर्नेमा सहचालकले कम पैसा दिन्छ । यात्रु ओर्लेर गन्न थाल्छन्, गाडी गुडाइसकेको हुन्छ । नेपालीलाई त सहचालकले यस्तो व्यवहार गर्छन् भने विदेशीलाई यिनीहरुले के गर्लान् ?

 

सहचालकले उनीहरुलाई पैसा फिर्ता गर्दैनन् । पर्यटक बोक्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सय सात वटा ट्याक्सी छ । सरकारले पर्यटकको सेवासुविधालाई मध्यनजर गर्दै हरियो प्लेटको ट्याक्सीको दर्ता खोलेको थियो । २०५० सालदेखि ट्याक्सीको दर्ता बन्द छ ।

 

ती सबै ट्याक्सी भन्सार र भ्याट छुटमा आएको हो । २०७० सालमा एयरपोर्टको पुराना ट्याक्सी फालेर सट्टापट्टामा नयाँ ट्याक्सी ल्याइयो । तर, सिण्डिकेट हटाइएन् । एयरपोर्टका ट्याक्सीमा अझैपनि सिण्डिकेट छ । विदेशीलाई सहुलियत देऊ भनेर भन्सार र भ्याट छुटमा दिइएको ट्याक्सीले लुटतन्त्र मच्चाएको छ ।

 

एयरपोर्टबाट गौरीघाट गएको दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँ ट्याक्सी चालकले लिन्छन् । ठमेलसम्म गएको त पाँचदेखि सात हजार । यता, होटलबाट समेत ट्याक्सी चालकले कमिशन लिएका हुन्छन् । एयरपोर्टमा चल्ने ट्याक्सीमा मीटर छैन् । कालो प्लेटको ट्याक्सीको पनि सबै प्रदेशमा दर्ता बन्द छ ।

 

नयाँ दर्ता नखोेलेको दशकौं बितिसकेको छ । पर्यटक बोक्नका लागि छुट्टै पर्यटक बस पनि छन् । सरकारले भन्सार र भ्याट छुटमा हरियो प्लेटको पर्यटक बस दिएको हो । ट्राभल्सहरुले विदेशीबाट आफूखुसी भाडा लिइरहेका छन् । जुन होटलले कमिशन दिन्छ, त्यही होटलमा ट्राभल्सले पर्यटक लगेर राखिदिन्छ ।

 

पर्यटक बोक्ने बसहरुले नेपाली यात्रु पनि बोकिरहेको छ । कलंकीबाट पोखरा गएको एक हजार दुई सय रुपैयाँ लिन्छ । जुन सरासर गैरकानुनी हो । हरियो प्लेटको बसले नेपाली बोक्न पाउँदैन् । यो विदेशीका लागि मात्रै हो । पर्यटक बस पनि पेट्रोल–डिजेलबाट चल्छ । नेपाल आयल निगमले भाडा घटाउँदा–बढाउँदा सार्वजनिक यातायातको भाडामा हेरफेर हुन्छ ।

 

तर, पर्यटक बसको भाडामा हुँदैन् । न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पर्यटक बसको भाडा तोक्छ न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले । ट्राफिक प्रहरीले पनि नेपाली यात्रु बोक्ने पर्यटक बसलाई कारबाही गर्दैनन् । नेपाली यात्रु बोकेर पर्यटक बस हुँइकिरहेको हुन्छ, ट्राफिक टुलुटुल रमिता हेरेर बस्छ ।

 

विदेशी बोक्ने गाडी एकदमै मँहगो हुन्छ । भन्सार र भ्याट छुटमा ल्याउँदा पनि यातायात व्यवसायीले एउटा गाडीमा ५० लाखदेखि एक करोड रुपैयाँसम्म लगानी गरेका हुन्छन् । तर, यातायात व्यवसायीले लगानीको राजश्व तिर्दैनन् । एउटा पर्यटक बसले महिनाको लाखौं कमाउँछ ।

 

तर, खोइ त राजस्व ? पर्यटक बसहरुले राजश्व कुनै पनि विषयमा राजश्व तिरेका छैनन् । भाडाको गाडी घरेलु र कम्पनीमा गएर पञ्जीकरण हुनुपर्छ । यद्यपि, पर्यटक बसको हकमा यो व्यवस्था पनि लागु भएको छैन् । विदेशी नेपालमा आउनु भनेको सबैका लागि फाइदाको कुरा हो ।

 

राज्यलाई मात्र होइन्, व्यापार–व्यवसायीलाई पनि फाइदाजनक छ । विदेशीलाई ठग्ने र अपहेलना गर्ने काम कसैले गर्नुहुँदैन् । सरकारले नेपालमा धेरैभन्दा धेरै विदेशी पाहुना भित्र्याउन निकै प्रयास गरिरहेको छ । सरकारको यो कदममा व्यवसायीहरुले पनि साथ दिनुपर्छ ।

 

देश चलाउनका लागि विदेशी मुद्राको निकै नै खाँचो हुन्छ । विदेशीहरुसँगै विदेशी मुद्रा पनि नेपाल भित्रिन्छ । त्यही मुद्राले सरकारले सामानहरु खरिद गर्ने हो । तर, यो कुरा नेपालीले बुझिरहेका छैनन् । होटल व्यवसायीले विदेशी पर्यटकलाई सहुलियतमा राम्रो सेवासुविधा दिनुपर्यो ।

 

अन्य व्यवसायीले पनि उनीहरुलाई ठग्न भएन् । नेपाल र नेपाली सहयोगी रहेछन् भनेर उनीहरुले आफ्नो देशमा प्रचार गरुन् । आफ्नो देशको नागरिकलाई नेपाल घुम्नै पर्ने कारणहरु उनीहरुले देखाउन सकुन् । यहाँबाट फर्किदाँ कुनै पनि विदेशीले तीतो अनुभव लिएर जान नपरोस् भनेर सबैले आफ्नो ठाउँबाट प्रयास गरौं ।

 

नेपाली अभिभावकले आफ्ना सन्तानलाई राम्रो ज्ञान दिन सकेका छैनन् । न विद्यालयले नै सिकाउन सकेका छन् । पढाइ घोकन्त भयो, अभिभावक आफ्नै कामकाजमा व्यस्त छन् । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, अपाङ्ग सीट छुट्याइएको हुन्छ । कलेजको ड्रेसमा रहेका विद्यार्थीहरु ती सीटमा बसेका हुन्छन्, ज्येष्ठ नागरिकचाँहि उभिएको ।

 

ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरु चढ्नेबित्तिकै उनीहरु सुतेको नाटक गर्न थाल्छन् । विद्यार्थी त यस्ता छन्, अरुको के कुरा गर्नु ? विदेशीलाई अहिले व्यापारीहरुले कमाउने माध्यम बनाएका छन् । जुन सरासर गलत छ । विदेशीका लागि सरकारले हरेक क्षेत्रमा सहुलियतको व्यवस्था गर्नुपर्छ ।

 

एकचोटि आएको विदेशी फेरि फर्केर आउने वातावरण बनाउन जरुरी छ । हामीले पाहुनालाई भेट्नेबित्तिकै हात जोड्छौं । उनीहरुको सत्कार गछौं । विदेशी पाहुनाको चाँहि किन नगर्ने ? उनीहरुलाई एयरपोर्टमा सम्मानको व्यवस्था मिलाऔं । नेपाल ओर्लिनेबित्तिकै उनीहरुले राम्रो अनुभव बोटुलुन् ।

 

विदेशीचाँहि आओस् भन्ने अनि मतलब नगर्ने ! यस्तो पाराले कसरी चल्छ । विदेशी पाहुनाको सुरक्षा, खान बस्नको व्यवस्था सरकारले मिलाइदिनुपर्छ । विदेशी भन्नेबित्तिकै ठग्ने व्यापारीहरुको नियत सरकारले बदल्नुपर्छ । पछिल्लो समय बाटोमा माग्न बस्नेको संख्या ह्वात्तै बढेको छ ।

 

भुरादेखि बुढासम्म बाटोमा माग्न बसेका छन् । माग्न बसेका बालबच्चाहरु नेपालीकै खुट्टामा झुत्तिछन् । विदेशीलाई पनि त्यस्तै गर्छन् । जसले गर्दा विदेशीको मनमा नेपाल माग्ने देश रहेछ भन्ने परिरहेको छ । सरकार जनताको अभिभावक हो । हरेक नागरिकको जिम्मा सरकारले लिनुपर्छ ।

 

बाटोमा माग्न बसेकालाई खान, लाउन, बस्न, शिक्षा र स्वास्थ्यको व्यवस्था सरकारले गर्नुपर्छ । सबै काम देशको प्रधानमन्त्रीले मात्र गर्ने होइन् । मुलुकमा सयौं जनप्रतिनिधि छन्, तिनको के काम ? सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरे भने मुलुक परिवर्तन हुन बेर लाग्दैन् । राज्य सञ्चालकसँग भिजन छैन्, जसले गर्दा ठगहरु सल्बलाएका छन् । सरकार अझैपनि आँखा चिम्लेर बस्ने हो भने मुलुकमा थप बेतिथि मौलाउँछ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro