विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्छौं : मन्त्री मोहनबहादुर बस्नेत 

Ghorahi cement

 

 

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्ने बताउनु भएको छ । बुधबार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित मंगलामाई माध्यमिक विद्यालयको ६२ ओै बार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री बस्नेतले आपत विपद र विकासका लागि नेता चाहिने बताउँदै आफू त्यसका लागि म सधैं तयार रहेको बताउनु भयो ।

 

“शिक्षा, स्वास्थ्य, विपदको समयमा उद्दारमा, भौतिक विकासमा म निरन्तर लाग्नेछु । विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्छौं, आपत विपद र विकासका लागि नेता चाहिन्छ, त्यसका लागि म सधैं तयार छु ।तपाईंहरुले गलत ठाउँमा मत परेछ भनेर पाँच बर्षपछि पश्चाताप गर्नुपर्ने छैन ।” मन्त्री बस्नेतले भन्नुभयो ।

 

उहाँले आफु सधैंभरि राम्रो काम गरेर जनताको मन जित्नु पर्छ भन्ने सोच भएको मान्छे भएको बताउँदै त्यही अनुसार काम गर्ने बताउनु भयो ।

 

मन्त्री बस्नेतले पिस्कर घटनाबाट एमालेले देशको राजनीतिमा बैतर्नी तर्यो तर सहिदका परिवारको जीवनस्तर उकास्ने र रोजगारी उपलब्ध गराउने ध्यान नदिएको भन्दै बिगतमा गलत मानिसलाई जिताएर पिस्कर र त्रिपुरासुन्दरी गाउँपालिकाको बिकास पचास वर्ष पछाडि परेको बताउनु भयो । उहाँले आफू अर्को निर्वाचन क्षेत्रबाट निर्वाचित भएको भएपनि यस क्षेत्रको बिकासका लागि पचास बर्षमा नभएको काम पाँच वर्षमा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले स्थानीय सरकारका सामु जहाँ गयो त्यही समस्या देखिन्छन् भन्दै सीमित स्रोत र साधन परिचालन गरेर चुनावी घोषणापत्रमा समेटिएका कुराहरु समेतलाई ध्यान दिएर शैक्षिक सुधार, मानव सुचकाँक विकास, भौतिक विकास लगायतका कामहरु गरिरहेको बताउनु भयो ।

 

त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष गीताकुमारी नेपालले गाउँपालिकाभित्र रहेका ३० वटा विद्यालयको स्तरोन्नतिको लागि काम गरेको बताउनु भयो । उहाँले वर्तमान जनप्रतिनिधि गाउँपालिकामा निर्वाचित भएपछि पहिलो बैठकबाटै कक्षा १२ सम्म निशुल्क शिक्षा लागू भइसकेको बताउँदै भौतिक विकास भन्दा शिक्षा स्वास्थ्य र मानव विकास महत्त्वपूर्ण, हामीले त्यता वढि ध्यान दिएको बताउनु भयो ।

 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले शिक्षकहरुले कक्षा कोठामा छिर्दा राजनीतिक पार्टीको झण्डा र डण्डा छोड्न सके मात्रै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन सक्ने बताउनु भयो ।

 

प्रधानाध्यापक घनश्याम पौडेलले बिद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाको सहयोगका साथै संघीय सरकारबाट पनि पर्याप्त सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा ब्यक्त गर्नुभयो ।

Shangri-la Development Bank Ltd.
Nepali patro