रवि लामिछाने र जिबी राई विरुद्ध ५२ करोडको सावाँ–ब्याज फिर्ता गराउन माग गर्दै सहकारी विभागमा उजुरी

काठमाडौं।सहकारी ठगीको आरोप लागेका पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।

 

सर्वोच्च अदालतमा रिट हालेर रविको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले हिजो विभागमा उजुरी हालेका हुन् । उजुरीमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन समयमा एमडी रहेका रविमाथि आवश्यक छानविन र कारवाही गर्न माग गरिएको छ ।

 

 

सहकारीका बचतकर्ता बाहेक अरुलाई कर्जा लगानी गर्न नपाइने सहकारी नियमलाई कुल्चेर जीपी र रविले ऋण लिएको सञ्चार माध्यमबाट सार्वजनिक भएको उल्लेख गर्दै युवराजले तत्काल छानविनको दायारामा ल्याउन माग गरेका छन् ।

 

यी दुइले विभिन्न सहकारीबाट लिएको ५२ करोडको सावाँ–ब्याज फिर्ता गराउन माग गर्दै उजुरीमा भनिएको छ, ’सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु ।’

 

निजहरुले सहकारीबाट कर्जा लिँदा गरिएका सम्झौता कागज, सहकारीको निर्णय, कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको सक्कल कागज झिकाई आवश्यक अनुसन्धान गर्न भनिएको छ । अनुसन्धानका क्रममा कुनै लिखित सम्झौता बिना कर्जा लिने–दिने कार्य गरेको देखिए संगठित अपराधसम्बन्धि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीमा पत्राचार गर्न आग्रह गरिएको छ ।

 

‘साथै निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, युवराजको उजुरीमा लेखिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro