जनता बने सचेत, ठग्न नपाउँदा ठगहरुलाई ‘रातमा निद्रा न दिनमा चैन’ !

Ghorahi cement

 

अटो व्यवसायीले जे माग गर्यो, त्यही पूरा गरिदियो, सरकारले । सेयर र घरजग्गाको हकमा पनि त्यही भयो । गाडीको भ्यालुएसनको आधारमा बैंक तथा वित्तिय संस्थाले पहिले ५० प्रतिशत कर्जा दिन्थ्यो । सरकारले बढाएर ८० प्रतिशत दिने निर्णय गरिदिएको छ । सेयरमा लगाएको १२ करोडको सीमा पनि सरकारले हटाइदियो ।

 

जग्गाको वर्गीकरण रोकिदियो, कित्ताकाट खोलिदियो । खेतीयोग्य जमिनमा पनि प्लानिङ्ग गर्न दिने निर्णय सरकारले गर्यो । व्यवसायीले जे–जे माग गर्यो, सरकारले धमाधम पूरा गरिदिन्छ । पछिल्लो उदाहरण अध्यादेशमार्फत संशोधन गरिएको नौ वटा लगानीसम्बन्धी ऐन पनि हो ।

 

व्यवसायीकै मागअनुरुप सो ऐनमा संशोधन गरिएको हो । प्रथम कुरा के भने सरकारले व्यापार गर्ने होइन् । व्यवसाय गर्न सहज वातावरण बनाउनका निम्ति ऐनकानुन निर्माण गर्नेसम्म मात्रै सरकारको हातमा रहन्छ । व्यवसायीले भनेअनुसार गर्दा पनि कारोबार बढेन् भने त्यसमा सरकारको के गल्ती ?

 

घरजग्गा दलालीको मागबमोजिम कित्ताकाट खोलियो । तर, कारोबार अहिलेपनि ठप्प छ । अब यसमा सरकारलाई दोष लगाएर हुन्छ ? कुरा के हो भने सर्वसाधारणले किनिदिएनन्, उनीहरु ‘मुर्गा’ बन्न चाहेनन् । यसमा सरकारलाई आरोप लगाउनै मिल्दैन् । किन्ने–नकिन्ने त्यो सर्वसाधारणको मर्जीको कुरा हो ।

 

बैंकले सेयर एक सय रुपैयाँमा निकासा गर्छन् । दलालीले के गरे, एक सयको सेयरको मूल्य चार हजार पुर्याए र सोझासाझीलाई बेचे । जग्गा त उब्जनीको स्रोत हो । जग्गा दलालीले अन्न फल्ने जमिनमा डोजर लगाएर, प्लानिङ्ग गरेर आनाकै ६०–६५ लाखमा बेचे । छिमेकी मुलुकमा एक लाखमा पाउने सवारी साधन यहाँ ३५–४० लाखमा बेचियो ।

 

दलालीहरुले कसरी हाम्रो फाइदा उठाइरहेको छन् ? सर्वसाधारणलाई थाहा थिएन् । उनीहरुले सर्वसाधारणदेखि सञ्चारकर्मीसम्मकै आँखामा धुलो छरेर लुटिरहेका थिए । अहिले बजारमा सेयर, घरजग्गा, गाडी किन्ने कोही छैनन् । किन कि सर्वसाधारणको अब आँखा खुल्यो ।

 

सर्वसाधारण सचेत भए, दलालीको ठग्ने दिन अन्त्य भयो । सरकारले सेयर, गाडी र घरजग्गा नकिन्नु भनेर जनतालाई भनेको छैन् । तैपनि जनताले किन्दैनन्, किन ? जनताले हामी कसरी ठगिरहेका थियौं भन्ने थाहा पाए । दलालीले हामीलाई कसरी लुटिरहेका थिए ? भन्ने छर्लङ्ग देखे ।

 

अनि उनीहरुले यी क्षेत्रमा लगानी गरेनन् । जसका कारण दलालीको ठग्ने दिन अन्त्य भयो । आफूहरुले ठग्न नपाएपछि दलालीहरु अहिले ‘गोहीको आँशु’ झारिरहेका छन् । बैंक तथा वित्तिय संस्थामा कर्जा लिने सामसुम छ । जति प्रतिशत ब्याज दिन्छु भनेपनि बैंक, सहकारी, लघुवित्त र फाइनेन्समा बचत गर्ने कोही छैनन् ।

 

यता, सस्तोमै कर्जा दिएपनि लिने कोही छैनन् । जनता सचेत भएको अर्को उदाहरण यो पनि हो । बैंक तथा वित्तिय संस्थाको सोझासाझीलाई ठग्ने र उठीबास लगाउने कार्यको अब बन्द हुन्छ । अहिले निजी बैंकहरुमा पैसा राख्नेभन्दा निकाल्ने धेरै छन् । बैंक र फाइनेन्सहरु घाटामा गइरहेका छन् ।

 

लघुवित्त र सहकारी त बन्द भइहाल्यो । सर्वसाधारणले बैंक तथा वित्तिय संस्थाको ‘मुखटा’ भित्रको अनुहार छर्लङ्ग देखिसकेका छन् । ‘मुखटा’ लगाएर ठग्दै आएकाहरु माथिबाट जनताको विश्वास उठिसकेको छ । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिनुहुन्न, सेयर, गाडी र घरजग्गामा लगानी गर्नुहुँदैन् भन्ने कुरा सर्वसाधारणले बुझिसकेका छन् ।

 

त्यसैले अहिले दलालीहरु ‘पानी बिनाको माछा’ जस्तै भएका छन् । व्यवसायीको बर्को ओढेर सर्वसाधारण लुट्दै आएकाहरुलाई लुट्न नपाएपछि तनाव भएको छ । केही दिनअघि सेयर लगानीकर्ताहरु माइतीघरमा आन्दोलनमा उत्रिए । पहिलो कुरा त यिनीहरुले के बुझन्, सरकारले सेयर किन्ने होइन् ।

 

सर्वसाधारणले किन्दैनन् । सरकारले आफ्नो तर्फबाट हुने प्रयास गरिदिएकै हो । अनि सरकारविरुद्ध सडकमा आएर सेयरको मूल्य बढ्छ ? कस्तो सोचाइ हो यो । बजार चलाउने सरकार होइन्, सर्वसाधारण हुन् । सर्वसाधारणमा त्यति शक्ति छ, चाहे भने बजार उकास्न पनि सक्छन्, खसाल्न पनि सक्छन् ।

 

हिजो सर्वसाधारणले किनेका थिए र पो बजार भाउ आकाशिएको थियो । एक लाख नपर्ने जग्गालाई करोडमा बेचिएको थियो । अब त्यो दिन गयो । पर्दाभित्र बसेर दलालीहरुले आफूहरुलाई लुटेको सर्वसाधारणले राम्ररी बुझिसकेका छन् । त्यसैले अब जति रोएपनि, कराएपनि यी तीनवटा क्षेत्र उमो लाग्ने छैन् ।

 

बढी ब्याजको प्रलोभनमा परेर सर्वसाधारणले जागिर खाएर आएको, विदेशमा बसेर कमाएको, घरजग्गा बेचेको पैसा बैंक तथा वित्तिय संस्थामा लगेर राखे । ब्याजको लोभमा पर्दा साँवा नै डुबेको अवस्था छ । सहकारी र लघुवित्त त लगभग सकि नै हाल्यो । अब सहकारी र लघुवित्त उकासिने कुनै आधार नै छैन् ।

 

बैंक र फाइनेन्समा पनि समस्या देखिँदैछ । राज्यले हिजो पनि सेयर, घरजग्गा र गाडीमा लगानी गर भनेको थिएन्, आज पनि ती क्षेत्रमा लगानी नगर भनेको छैन् । राज्य हिजो पनि मौन थियो, आज पनि मौन छ । सबैले गरेको त आफ्नो मर्जीले हो । आज नाफा भइरहेको भए, कसैले राज्यलाई सम्झिन्थे ?

 

सरकारले गर्दा हामी डुब्यौ भन्न मिल्छ ? नाफा हुञ्जेल आफ्नो अनि डुबेपछि सरकारको । नेपालीको त यो प्रवृत्ति नै हो, राम्रो भए आफूले गर्दा, बिग्रिए अरुले गर्दा । सरकारले जनतालाई घरजग्गा, सेयर, गाडीमा लगानी गर भन्न मिल्दैन् । कहाँ कति लगानी गर्ने ? यो सर्वसाधारणको स्वेःइच्छाको कुरा हो ।

 

त्यसैले आन्दोलन गरेर सेयर, घरजग्गा, सेयरको मूल्य बढ्छ, खाली भएका सटर भरिन्छ भन्नु भ्रम हो । बजार जहिले माथि गइरहन्छ भन्ने छैन् । दलालीहरुले हामी सँधै यसरी नै ठगिरहन्छौं भन्ने सोचेका थिए । तर, त्यो पूरा हुन पाएन् । बीचमा बसेर खान पल्केकाहरुको सत्यता बाहिर आउनै थियो, आयो ।

 

अब यी क्षेत्र झनै नाजुक बन्दै जान्छ । एक सयको सेयर त्यतिमा पनि बिक्री नहुने दिन आउँछ । एक लाखको गाडी आधा मूल्यमा किन्ने मान्छे भेट्दैन् । सेयर भनेको जुवासरह हो । तर, सर्वसाधारणले यो कुरा बुझेका थिएनन् । अहिले त छर्लङ्ग भयो । अहिले जुन अवस्था हो, त्यो देख्दा कतिपयलाई आफूले सेयर, घरजग्गा, गाडीमा लगानी नगरेको र बैंक तथा वित्तिय संस्थाको प्रलोभनमा नपरेकोमा गर्व लाग्छ ।

 

थोरै ब्याज आएपनि सरकारी बैंकमा पैसा राखेकोप्रति उनीहरु खुसी छन् । किन कि उनीहरुले बैंक तथा वित्तिय संस्था पीडितका हालत देखिरहेका छन् । बुढापाकाले भन्छन्,‘सत्य कहिले ढग्दैन्, झुठ धेरै बेर टिक्दैन् ।’ दलालीहरुले झुठको खेती गरेर ठगेका थिए, जुन कुनै दिन बाहिर आउनै थियो ।

 

आएसँगै तिनको झुठको व्यापार डामाडोल भयो । कहाँ ठगी भइरहेको छ ? जनता कहाँ ‘मुर्गा’ बनिरहेका छन् ? सबैतिर राज्यको आँखा पुग्न सक्दैन् । त्यो बाहिर ल्याउने सञ्चारकर्मी हुन् । जब सञ्चारकर्मीले ती कुरा बाहिर ल्याए, ठगहरुको ठग्ने दिन समाप्त भयो ।

 

डुब्ने त डुबिहाले, बाँकी त बेचे नि । अरुलाई चुसेर आफू मोटाइरहेका थिए, दलालीहरु । सरकार व्यवसायीको मात्रै होइन् । समग्र जनताको सरकार हो । तीन करोड नेपालीको अभिभावकत्व सरकारले लिनुपर्छ । त्यसैले व्यवसायी नाममा ठगका मात्रै होइन्, जनताको कुरा पनि सुन ।

 

दलालीहरुले सरकारलाई गलाउँछौं र हामी ठग्छौं भन्ने सोचेका छन् । तर, यो अब सोचमै सीमित हुन्छ । किन कि जनता बाठा भइसके । धेरै ठग देश छोडेर भागिसकेका छन्, बाँकी भएका पनि भाग्छन् । देशको राजनीति परिवर्तन गर्ने जनता हुन् । यहाँ जनताले चाहे भने क्षणिकमै उथलपुथल हुन्छ ।

 

त्यही जनतालाई दलालहरुले हलुकामा लिएका थिए । ढिलै भएपनि जनताले ठगहरुको अनुहार चिने । ठगहरुको रातको निद्रा र दिनको भोक हरायो ।

 

Nepali patro