सशस्त्र प्रहरीमा तलदेखि माथिसम्म शंकैशंका
वि.सं.२०८३ मंसिर १२ शनिवार
shares
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ प्रहरी अधिकारीहरूमाथि समेत अनुसन्धान अघि बढाएको छ । विद्यालयको लेखा अधिकृतका रूपमा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई पक्राउ गरेर अनुसन्धान थालेको आयोगले डीआईजीसम्मका अधिकारीलाई बयानका लागि बोलाएको छ ।
अनियमितता भएको समयमा विद्यालयको कमान्डेन्ट रहेका हालका डीआईजी दिग्विजय सुवेदी पनि अनुसन्धानको दायरामा परेका छन् । अख्तियारको अनुसन्धान अघि बढेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई कैलालीस्थित बाहिनीपतिको जिम्मेवारीबाट हटाएको छ ।
यस प्रकरणमा तत्कालीन विद्यालय कमान्डेन्टहरू सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेमाथि पनि अनुसन्धान भइरहेको छ । सुवेदी हाल डीआईजी, केसी एसएसपी र पाण्डे एसपी छन् । अख्तियारले अहिलेसम्म एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिइसकेको छ ।
इन्स्पेक्टर गुरुङले करिब ६ वर्षसम्म विद्यालयको लेखा अधिकृतका रूपमा काम गरेकी थिइन् । विद्यालयको आम्दानी कल्याण कोषमा जम्मा गर्नुपर्नेमा गैरकानुनी रूपमा रकम निकालेर साथी लामालाई दिने गरेको अनुसन्धानबाट खुलेको छ । कतिपय रकम कनेक्ट आईपीएसमार्फत लामाको कम्पनीको खातामा पठाइएको थियो । बैंकलाई विद्यालयका कमान्डेन्टको सम्पर्क नम्बर भन्दै लामाकै नम्बर उपलब्ध गराएर कारोबार गरिएको समेत अनुसन्धानमा देखिएको छ ।
सशस्त्र प्रहरीको कल्याण शाखाले सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएपछि प्रहरीले गत असार २० गते गुरुङ र लामालाई पक्राउ गरेको थियो । पछि भ्रष्टाचारसम्बन्धी कसुर आकर्षित हुने निष्कर्षसहित प्रहरीले १० दिनपछि दुवैलाई अख्तियारमा बुझाएको थियो ।
अख्तियारले करिब दुई महिना हिरासतमा राखेर अनुसन्धान गरेपछि उनीहरूलाई साढे १३ करोड रुपैयाँ धरौटीमा रिहा गरेको स्रोतको भनाइ छ । रिहा भएका लामा अर्को ठगीसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा छन् ।
यसअघि सशस्त्र प्रहरीले डीआईजी युवराज अर्यालको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको थियो । समितिले इन्स्पेक्टर गुरुङकै योजनामा रकम हिनामिना भएको निष्कर्ष निकालेको थियो । सुरुमा रकम फिर्ता गर्न मौका दिइए पनि रकम फिर्ता हुन नसकेपछि कानुनी प्रक्रिया अघि बढाइएको थियो ।
तर, एउटै लेखा अधिकृतले लगातार ६ वर्षसम्म काम गर्दा करिब ११ करोड रुपैयाँ हिनामिना हुनु र त्यसबारे विद्यालयको नेतृत्व तथा कल्याण शाखाका अधिकारीहरू बेखबर रहनु आफैँमा गम्भीर प्रश्न बनेको छ । प्रहरी स्रोतले पनि यति ठूलो रकम एक्लै हिनामिना गर्न सम्भव थियो कि थिएन भन्ने विषयमा आशंका व्यक्त गरेको छ ।
अब अनुसन्धानको मुख्य प्रश्न रकम निकाल्ने कर्मचारीमा मात्र सीमित रहने कि विद्यालयको नेतृत्व, आर्थिक निगरानी गर्ने निकाय र कल्याण शाखाका जिम्मेवार अधिकारीसम्म पुग्ने भन्ने हो ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
सशस्त्र प्रहरी परिवार महिला संघमा विधान मिचेर पदाधिकारी फेरबदलदेखि आर्थिक अपारदर्शितासम्म





























