सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ

1.5K
shares

 

सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । सदाचार त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचले आफैमा गुणस्तरयुक्त हुन्छ र राम्रो मूल्य प्रणाली अंगिकार गरेको हुन्छ । सुशासनले शासनको मार्गमा दक्षताको विकासका लागि अग्रसर गराउँछ जसले यसको वैधानिकता र विश्वसनीयता बढाउँछ्र । सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । कार्यसम्पादनलाई व्यावसायिक र जनमुखी बनाउने मूल्य, सिद्धान्त र मानकहरूको अवलम्बन नै नैतिकता र सदाचारिता हो । सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो ।

सदाचारी नागरिक र शासक भएको देशमा सुशासन कायम हुन्छ र सुशासन भएमा राष्ट्र अग्रगतिमा जान्छ र समृद्धि सम्भव हुन्छ । सुशासन कायम रहेको राष्ट्र विकास, समृद्धिका हिसाबले अगाडी हुन्छ, नागरिक सुखी हुन्छन् । सार्वजनिक क्षेत्रका पदाधिकारीले कार्यसम्पादन गर्दा प्रकट गर्ने व्यवहारमा नैतिकता र सदाचारिता देखिनुपर्छ ।

राम्रो आचरण, असल चालचलन र सकारात्मक व्यवहार सदाचार हो । सुशासनको एक महत्वपूर्ण खम्बा भनेको सदाचारलाई लिन सकिन्छ । सदाचार भनेको नीति, नियम र व्यवहारप्रति उच्च सतर्क रही कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता एवं इमानदारी हो। सदाचार सैद्धान्तिक विषय नभएर यो आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध गर्ने विषय हो ।

सदाचार र सुशासन एक अर्काका परिपूरक हुन् । सदाचार भएका नागरिक बिना सुशासन कायम गर्न अप्ठ्यारो हुन्छ भने सुशासन कायम गर्न सकिएन भने सदचारिता हराउदै जान्छ र दुराचारीले समाजमा राज गर्छन् जसको कारण रास्ट्रको गरिमा, समृद्धि बढ्नु त परै जाओस् सामान्य मानवीय सम्बन्धमा समेत गिरावट आउछ्र त्यस कारण राष्ट्र निर्माणमा सदाचार र सुशासनको ठुलो महत्व छ्र ।मानव समाज नीति, कर्म र आचरणबाट चल्ने हो। सदाचार व्यक्तिको विवेक वा अन्तरात्मामा छिपेर रहने त्यस्तो शक्ति हो, जसले व्यक्तिलाई गलत काम नगर्न सचेत गराउँछ । सदाचारी मानिस अन्तरात्माको यही आवाजका कारण स्वार्थ, लोभ, लालसा, आग्रहजस्ता कमजोरीसँग सम्झौता गर्दैनन् ।

अहिले सार्वजनिक क्षेत्र व्यवस्थापनमा चाहिएको महत्वपुर्ण विषय नै सदाचार र सुशासन हो । सदाचार र सुशासन एक–अर्कामा अन्तर–आबद्धित छन् । सार्वजनिक संस्थाहरू समाजलाई व्यवस्थित गर्न सिर्जना भएका हुन् । संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएको हुन्छ । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । संस्थाहरू बलिया हुनु भनेको सुशासनको जग बस्नु हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार र व्यावसयिकताका मूल्य आचरणमा देखिनुपर्छ ।

सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता रहेका छन् । यी विषय कार्यान्वयन हुँदा सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, जवाफदेहि,निष्पक्ष, नागरिकमैत्री र भ्रष्टाचारमुक्त बनाउन सकने कुरामा आशावादी हुन सकिन्छ । आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पु¥याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् ।

वर्तमान समयमा सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू हस भएका छन् ।सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन् । सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै । त्यति मात्र पर्याप्त हुँदैन । उ, नैतिक, इमानदार र सदाचार रुपमा योग्य हुनुपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ । संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ ।

लोकतन्त्र, सामाजिक न्याय, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो । सामाजिक–आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो । लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन । देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिकता, समर्पणभाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार रहनुपर्छ ।

नैतिकता, सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो। नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही गरिने उदाहरणीय चरित्र नैतिकता हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिकता हो ।

बुद्धधर्मले सम्पत्ति र शक्तिको सञ्चयबाट जीवन सफल नहुनेतर्फ संकेत गर्दै नैतिकतालाई शान्ति र सुख प्राप्तिको मूल भनेको छ । नैतिकता वा आचरण ठिक वा बेठिक, असल वा खराब चालचलन बताउने सिद्धान्त वा व्यवहार हो । यस प्रकार सदाचार र आचरण मा केही भिन्नता हुने भए तापनि व्यवहारमा यिनीहरूलाई प्रायः एक अर्काको सट्टामा समेत प्रयोग गर्ने गरेको पाइन्छ । कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ । नैतिकता मानवीय मूल्यहरुको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार्छ र जीवनमा खुशी ल्याउँछ। नैतिकताका कारण हामी इमान्दारीको जीवन जीउँछौं। यसबाट हाम्रो अरुसँगको सम्बन्धमा विश्वास र मित्रताको वातावरण बन्छ। नैतिकता खुशीको साँचो हो।

कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ ।प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो ।

नैतिक आचरण नै जीवनको महत्वपूर्ण पक्ष हो । नैतिकताले नै मानिसलाई उच्च मूल्यांकन हुने अवसरको सिर्जना गर्दछ । त्यसको लागि मनबाट उब्जने प्रशन्नताले ल्याउने अनुभूतिलाई सकारात्मक चिन्तनतर्फ ध्यान आकृष्ट गर्ने प्रवृत्तिको विकास गर्ने अभ्यास गरिरहनु पर्छ । मनले इच्छाएको कर्मलाई मनको पवित्रतासँगै उजागर हुने नैतिक आचरण र कर्ममा विश्वास बढाउनु पर्छ ।यसको लागि जस्तोसुकै कठिन परिस्थिति पर्दा पनि धैर्य र सहनशील भई मनलाई स्थिर राखी मनमा आउनसक्ने कलुषित विचारलाई हटाउनेतर्फ सधैँ सचेत रहनु पर्छ । मन नपरेको र गर्न नहुने कर्मतर्फ मनलाई जबर्जस्ती स्वीकार्ने वातावरण बनाउनु हुँदैन । खुशी बाँड्न सके धेरै उत्तम हुन्छ । यदि खुशी बाँड्न सकिएन भने पनि आफूभित्रको पवित्र मन सधैँ खुशी र उमंग राख्न नैतिक आचरण र चरित्रलाई एकाकार गरी वाह्य आवरणमा देखाउने अभ्यास गरिरहनु पर्छ ।

नैतिकता मानवलाई उसको आचरणको मूल्यांकन गर्ने बलियो आधार हो । हामी कसैलाई प्रेम गर्छौँ र अझ बढी त्यसप्रति आशक्ति जगाउँछौँ भने त्यसले कहिल्यै तृप्ति दिँदैन । किनकि मानव चाहना एकपछि अर्को गर्दै बढिरहेको हुन्छ । यही तृप्तिको चाहनाभित्र रुमलिँदै जाने हो भने मानिस सधैँ अपवित्रतातर्फ उन्मुख भइरहने अवस्था सिर्जना हुन पुग्छ । इच्छासँगै प्राप्तिको अभिलाषा बढ्नु भनेको सत्यबाट विचलित भई असत्यतर्फ आकृष्ट हुनु हो ।मनमा लागेको गर्ने मानवीय स्वभाव तथा आफूभित्र जागृत इच्छा प्राप्ति गर्नु कुनै अव्यावहारिक पक्ष होइन । इच्छा प्राप्ति सबैको चाहना पनि हो । तर पनि चाहना हुँदैमा सामाजिक मर्यादा र आफ्नो जिम्मेवारीलाई स्वार्थपरक चिन्तनतर्फ प्रवाह हुने गरी आचरण र व्यवहारलाई कहिल्यै प्रदर्शन गर्नु हुँदैन । यसले नैतिकतामा प्रश्न उठाउन सक्छ । तसर्थ, यसको लागि सकारात्मक भाव जागृत हुने र समाजमा नयाँ परिस्थिति ल्याउने सोच र चिन्तनलाई आफ्नो इच्छा र चाहनाको सेरोफेरोमा कुशलतापूर्वक प्रदर्शन गर्नसक्ने मानवीय चरित्र हुनुपर्छ ।

यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ । व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा उत्तर पाइन्न । तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ ।

मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ ।स्वार्थ, लोभ, लालसा, आसक्ति, आग्रह आदिलाई दबाउने सामथ्र्य वा अन्तरमूल्य नै सदाचारको जग हो। कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्तम हुन्छ सदाचार संस्कृतिमा। कहिलेकाहीं सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहन सक्नुपर्छ ।

सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ। सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ । अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ ।राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विधमान छ ।

सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्यजिम्मेवारीको परिभाषा, कार्यसम्पदान सूचकको स्थापना, सेवा बडापत्र, नागरिक पृष्ठपोषण, प्रोत्साहन र मूल्यांकन प्रणाली र नागरिक दबाब जस्ता संयन्त्रहरू अपनाउने सामान्य प्रचलन छ। नागरिक चेतनाको स्तर, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि सार्वजनिक प्रशासनलाई नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पु¥याएका छन्। सर्वसाधारणले सरोकार राख्ने विषय भनेको सार्वजनिक सेवा वितरण हो। सेवा वितरणका खास मान्यता र सिद्धान्त छन्, जसलाई अवलम्बन गरेरै सार्वजनिक संस्थाहरू नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन् ।नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले कर्मचारीमा आत्म नियन्त्रण र स्व उत्प्रेरणा वृद्धि गर्दछ । यसले सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाई सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ ।सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्नमा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले महत्वपुर्ण भुमिका खेल्दछ ।त्यसैगरी नैतिक आचरण र सदाचारयुक्त नेतृत्वलेसरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।महत्त्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउँन नैतिकता, आचरण र सदाचारले अक्सिजनको काम गर्दछ । सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गरी जनविश्वास अभिबृद्धि गर्नमा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले महत्वपुर्ण भुमिका रहेको हुन्छ ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुखकोष नियन्त्रक हुन्।)

civil hospital
Hams Hospitals