रेमिट्यान्सले मुलुक धानेर कुनै पनि देशको विकास भएको छैन: गुरुङ्ग

831
shares
Shine resunga department bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा नै बसेर केही गर्न सकिन्छ भन्ने भावना बोकेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

तमु विद्यार्थी छोज धिको आइतबारबाट तनहुँको दमौलीमा सुरु भएको १२ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले युवाले स्वदेशमा नै बसेर काम गरे मात्र देश बन्ने बताउनुभयो । यसका लागि आत्मनिर्भरको बाटो रोज्नु पर्ने उहाँको धारणा छ । प्राविधिक शिक्षाले आत्मनिर्भर बन्न सहयोग गर्ने बताउँदै उहाँले त्यस्तो शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो । ‘देशमा नै बसेर केही गर्ने सकिन्छ भन्ने भावना बोकेर अगाडि बढ्न युवालाई मेरो आग्रह छ, त्यसका लागि प्राविधिक शिक्षा पढ्न आवश्यक छ’, उहाँले भन्नुभयो ।

गुरुङले विश्वमा बाहिर गएर काम गरेर रेमिट्यान्सले मुलुक धानेर कुनै पनि देशको विकास हुन नसकेको गुरुङले बताउनुभयो । देश बनाउनको लागि देशमा नै बसेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘युवाहरू यहीँ बस्नु पर्छ, म केही गर्न सक्छु, मेरो देशको लागि केही गर्छु भनेर लाग्नु पर्छ’, गुरुङले भन्नुभयो ।

उहाँले भाषा र संस्कृतिको रक्षा पनि आजको चुनौती बन्दै गएको बताउनुभयो । मन्त्री गुरुङले घरमा आफ्नो भाषा बोल्ने संस्कृतिको विकास गर्न सके भाषा संरक्षण हुने प्रष्ट पार्नुभयो ।

लाहुरे संस्कृतिको कारण गुरुङ समुदाय नेपालको निजामती, राजनीति तथा अन्य क्षेत्रमा निक्कै पछि परेको उहाँले बताउनुभयो । गुरुङ समुदायका संघसंस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘हाम्रो समुदायलाई नेतृत्व गर्ने ठाउँमा पुर्‍याउनु पर्छ’, उहाँले भन्नुभयो ।

जति कुरा गरे पनि नीति निर्माण गर्ने ठाउँमा पहुँच पुगेन र नेतृत्वमा पुगिएन भने त्यो समुदायको लागि अरूले काम नगरिदिने उहाँले स्पष्ट पार्नुभयो । संसारले पराक्रमी जाति भनेर पत्याएका गुरुङ जातीले देश बनाउन लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

Sharestha treating