भ्रष्टाचार विरुद्ध युवासँग ऐक्यबद्धताको अपरिहार्यता
वि.सं.२०८१ मंसिर २४ सोमवार
shares
डिसेम्बर ९, भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले सन २०२४ को लागि भ्रष्टाचार विरुद्ध युवासँग ऐक्यवद्धता : सदाचारयुक्त भविष्य निर्माण Uniting with Youth Against Corruption: Shaping Tomorrow’s Integrity भन्ने नारा तय गरेको छ ।भ्रष्टाचार विरुद्ध युवासँगको यो ऐक्यवद्धता दुई वर्षसम्म अभियानकै रूपमा अघि बढाउने घोषणा पनि संयुक्त राष्ट्र संघले गरेको छ । युवाहरु उर्जा र सिर्जनशीलताका पर्याय हुन् उनीहरु परिवर्तनका संवाहक पनि हुन् । युवाहरु
सामाजिक सरोकारका मुद्दाहरुमा युवाहरुको भूमिका सर्वाधिक प्रभावकारी हुने गर्दछ ।भ्रष्टाचार विरुद्ध पनि युवाहरूले सशक्त भूमिका निर्वाह गर्न सक्छन्, उनीहरुले भोलीको समाजलाई सभ्य र सदाचारयुक्त बनाउनमा सहयोग गर्न सक्दछन् भन्ने अभिप्रायका साथ यो नारा तय भएको हो । सन् २०२५ मा कतारको दोहामा आयोजना हुने भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय महासन्धीका पक्ष राष्ट्रहरूको एघारौँ सभामा यस अभियानको नेतृत्वदायी भूमिका रहने छ । सो सभामा व्यापक मात्रामा विश्वभरका युवाहरूलाई सहभागी गराइने भएको छ । युवाहरूले संसारभरका नेतृत्व तहमा रहने पदाधिकारीहरूलाई भ्रष्टाचार रहित तथा सुखसँग बाँच्न पाउने भविष्य निर्माणमा सहयोगका लागि आह्वान गर्ने भएका छन् ।
भ्रष्टाचार विश्वव्यापी महारोग हो । भ्रष्टाचारबाट पर्ने प्रभावहरूमा विकासका नविनतम् मुद्दाहरूमा अपेक्षित नतिजा प्राप्त गर्न कठिनाई हुनु : जस्तो गरिबी निवारण, दिगो विकास, जलवायु परिवर्तनका असरहरूको न्यूनीकरणजस्ता प्रयासमा अवरोध सिर्जना, विकास आयोजनाहरु समयमै सम्पन्न हुन नसक्नु तथा यसको लागत बढ्न जानु, विकासका पर्वाधार तथा सार्वजनिक सेवाको गुणस्तर कामजोर हुनु अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोणमा ह्रास आउनु , असमानता र विभेद बढेर हुने र नहुने वीचको खाडल बढ्दै जानु जसता अवस्था सिर्जना हुन जाने गर्दछ ।
संयुक्त राष्टसंघ र विश्व आर्थिक मञ्चका अनुसार अनुसार विश्वको कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत बराबरको रकम भ्रष्टाचार भईरहेको छ। भ्रष्टाचारजन्य उक्त रकमबाट एकातर्फ सो वरावरको विकासात्मक कार्य अवरुध्द हुन पुग्यो भने अर्को तर्फ विकासको लागि त्यति वरावरको रकमको जोहो अर्को वर्ष गर्नु पर्ने स्थिति रह्यो । भ्रष्टाचार भएको यो मात्राको रकमले विकासशील मुलुकका १ अरब ४० करोड मानिसलाई जीवन यापन गर्न पुग्दछ भन्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको भनाई रहेको छ । भ्रष्टाचारको यो नकारात्मक प्रभाव यतिमै सीमित रहेको छैन यसले विश्व गरिवी निवारणको अभियान पनि यसै अनुपातमा पछि धकेलिदिएको छ ।
विश्वका १ अर्व ८ करोड युवाहरु, जो विश्वको कूल जनसंख्याको एक चौथाइ हिस्सा ओगट्दछन्, को सहभागिता आवश्यक ठानिएको हो । भ्रष्टाचारको यो भयावह अवस्थामा अव युवाहरुको सहभागिता आवश्यक भए अनुरुप भ्रष्टाचार विरुद्ध युवासँग ऐक्यवद्धता : सदाचारयुक्त भविष्य निर्माण मूल नारा तय गरि अभियानको रुपमा सञ्चालन हुन लागेको हो ।
भ्रष्टाचार नियन्त्रणका कार्यक्रमहरू राज्यका तर्फबाट साथै नागरिक समाज एवम् गैरसरकारी निकायहरूबाट समेत हुने गरेका छन् । नागरिकको सहयोगबिना भ्रष्टाचार नियन्त्रणको प्रयास सफल हुन सक्दैन । यसमा युवाको सहभागिता र सहयोग अझ वढी प्रभावकारी हुने गर्दछ । युवाहरु उर्जा र सिर्जनशीलताका पर्याय हुन् । उनीहरु परिवर्तनका संवाहक पनि हुन् । कुनै पनि विकासात्मक गतिविधि वा सामाजिक मुद्दाहरुमा युवाहरुको भूमिका सदैव सकारात्मक र प्रभावकारी हुने गर्दछ ।परिवर्तनकारी युवाको हातमा सकारात्मक मार्गदर्शन सहित देशको भविष्य र हुन्छ। युवाले आकांक्षालाई यथार्थतामा वदल्ने सामर्थ्य राख्दछन् । युवाहरु संवेदनशील विचारक हुन्, उनीहरु सकारात्मक विचार र अवधारणाका समर्थक पनि हुन् , उनीहरु नवप्रवर्तक परिवर्तनका संवाहक र उत्प्रेरक पनि हुन् । उनीहरुमा कुशल सन्देशवाहकको क्षमता रहेको हुन्छ उनीहरुमा प्रेरक र शिक्षकको भूमिका निर्वाह गर्ने सामर्थ्य रहेको हुन्छ साथै योगदानकर्ता र नेतृत्वकर्ताको कौशलता पनि ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सरकारको विशेष प्राथमिकताको विषय हो । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय महासन्धी, २००३ को नेपाल पक्ष राष्ट्र हो । नेपाल लगायतका विश्वका १९० मुलुकले यस महासन्धीलाई अनुमोदन गरिसकेका छन । यस महासन्धीमा उल्लेख भएका विषय कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व हुन्छ । भ्रष्टाचार निवारणका लागि प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन, भ्रष्टाचार विरुद्धको रणनीति तथा अन्तराष्ट्रिय प्रतिविद्धताको कार्यान्वयनमा आन्तिरक क्रियाशीलता र र तदनुरुपको रणनीति आवश्यक हुन्छ । संयुक्त राष्ट्र संघले सन २०२४ को लागि तय गरेको भ्रष्टाचार विरुद्ध युवासँग ऐक्यवद्धता : सदाचारयुक्त भविष्य निर्माण को यो अभियानलाई अव नेपालले पनि सो अनुरुपका अभियानहरु संचालन गर्नु पर्ने आवश्यकता रहेको छ । यसका लागि युवा संग सम्बध्द संस्थाहरुसंग सहकार्य, विद्यालय तथा विश्यविद्यालयहरुलाई यस अभियानमा जोडिनु आवश्यक हुन्छ ।भ्रष्टाचार न्यूनीकरणका मूलत दुइ उपायहरु हुन्छन् जसमा प्रबर्धनात्मक र निरोधात्मक । युवाहरुलाई यी दुवै कार्यमा संलग्न गराउन सकिन्छ तर उनीहरुको वढी सहभागिता प्रबर्धनात्मक कार्यमा रहने गर्दछ ।
सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी नीति निर्माण, कानुन तर्जुमा, र यस संग सम्बन्धित नागरिक संवाद छलफल र अन्तरक्रियाहरु, आदि कार्यमा युवाहरुको घनीभूत सहभागिता गराउन सकिन्छ । भावी सदाचारयुक्त र आदर्श समाज स्थापनाको यस अभियानलाई सार्थक वनाउन युवाहरूमा सक्रियता जगाउने, सहभागिता बढाउने र कुशल सहकर्ताको रुपमा परिचालन गर्ने किसिमवाट कार्यक्रमहरु संचालन गरिनु आवश्यक हुन्छ ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्।






























