संरक्षण अधिकृत चौधरीको रकम संकलन गर्ने गजबको तरिका

वि.सं.२०८१ फागुन २८ बुधवार
shares

काठमाडौं । निश्चित समयमा सरुवा हुनुपर्ने कर्मचारीको नियम हुन्छ । तर, केही कर्मचारीको निश्चित समयमा सरुवा पनि हुन्छ । तर ,चारपटकसम्म एउटै कार्यालयमा एउटै कर्मचारी पुग्छन् । यस्तै कर्मचारीमा पर्छन्, रामदेव चौधरी । पदले उनी उपसचिव हुन् । त्योसँगै उनको नामको अघि वरिष्ठ संरक्षण अधिकृत पनि झुण्डिएको छ । तर, उनी संरक्षणको सट्टा संकलन गरिरहेका छन् । संकलन पनि रकम । त्यो रकम पनि आफ्नै भूँडी भर्नका लागि ।
ग्रास कटिङ्गदेखि घाँसेमैदान व्यवस्थापन गर्दा कार्यालयको सवारी साधन प्रयोग गर्छन् । अनि त्यसबापतको रकम विनियोजन गरेर आफै खल्तीमा हाल्छन् ।
कोशी टपु वन्यजन्तु आरक्षण, सुनसरी भित्र माछा पाल्नलाइ कमिसनमा पोखरी बनाउन दिएको उनलाई आरोप छ । अन्यन्त्र सरुवा हुँदा पनि फर्केर त्यही गएका कारण पनि उनको त्यहाँ बदमाशी छ भन्न सकिन्छ । सरुवा भएपनि तुरुन्त उल्ट्याएर चौधरी पुनः त्यही पुग्छन् । त्यो पनि एक पटक होईन चार पटक यस्तै भईसकेको छ । त्यहाँका रेन्जरहरुलाई कार्यादेशको काम दिँदा उनीहरुसँग ६० प्रतिशतसम्म लिने गरेको खवर यस अघि पनि सार्वजनिक भएको थियो ।
हुनत चौधरीको सरुवा यस्तै कार्यालय ढोरपाटन,खप्तडमा पनि भएको छ । तर, उनी त्यहाँ गएका छैनन् । ४ पटक सरुवा हुँदा पनि त्यही थमौती गर्न सक्ने यी बहादुर उपसचिवले सरुवा रोक्न माथिल्लो निकायमा रकम चढाउन पर्ने कारण आफूले पनि संकलन गर्नुपर्ने अनिवार्य शर्त बनाएको एक पीडितले बताए ।
अझ कोटेशनमा गर्नुपर्ने काम पनि आफै गरेको कर्मचारीहरु बताउँछन् । तीन वटा फर्म आफैले खोजेर काम गरेको बील वनाउँदै रकम हजम गरेको भन्दै केही कर्मचारीले आरोप लगाएका छन् ।
कर्मचारीहरुलाई थर्काउने र पैसामा बार्गेनिङ्ग गर्ने र नदिँदा अभद्र व्यवहार गर्ने उनको पुरानो वानी भएका एक खरदारले बताए ।
मकालु वरुण राष्ट्रिय निकुञ्ज, संखुवासभामा यस्तै आर्थिक आतंक मच्चाएर उनले सवैलाई दुःख दिएका थिए । यी बिषयमा उपसचिव भने सरकारले जहाँ पठायो त्यही जाने गरेको दावी गर्छन् ।