जीवनी: शोभाखर रिमाल

वि.सं.२०८१ चैत २ शनिवार
shares

मानिसले जीवनमा केही न केही आफ्नो चाहनाअनुसार गरिरहन्छ । मानिसको भित्री चाहना दृढ इच्छा र लगनशीलतालाई निरन्तरता दियो भने अठ्यारा चुनौतीहरु हटाइ जस्तोसुकै कठिन परिस्थितिलाई पनि अनुकूल बनाएर सफलताको सिढी चढ्न सक्छ । आफ्नो जीवन कस्तो बनाउने हो ? मानिस स्वयम्मा निर्भर गर्छ । जीवनमा आउने आरोह –अवरोहहरुलाई सहजताले ग्रहण गरी अगाडि बढ्न सक्यो भने पक्कै पनि जीवनको उद्देश्य प्राप्त गरी सार्थक बनाउन सक्छ । आफ्नो जीवनभरि सामाजिक, राजनीतिक, धार्मिक एवम् परोपकारका क्षेत्रमा योगदान पुर्याउन सफल अझ विशेष सिंचाइ र खानेपानीका क्षेत्रमा आफूलाई अब्बल तुल्याउन सफल , अनेकौं हन्डर, ठक्कर खाएर पनि जीवनलाई सार्थक बनाउने उदाहरणीय नामले चिनिन्छन्, शोभाखर रिमाल ।
शोभाखर रिमालको जन्म वि,. सं. २०१३ साल चैत्र १६ गते तनहुँ जिल्लाको कछार भन्ने ठाउँमा माता अक्षरीदेवी रिमाल र पिता नन्दप्रसाद रिमालका कान्छा छोराकारूपमा जन्म भएको थियो । तिक्ष्ण वृद्धि, स्पष्ट बोल्ने खालको उहाँको स्वभाव थियो ।
शिक्षा प्राप्तिका लागि सहज होस् भनि २०२१ सालमा तनहुँको कछारबाट गैंडाकोट बसाइँसराइ गर्नुभयो । वि. सं. २०३२ सालमा क्. ी.ऋ. दिएर औपचारिक शिक्षा समाप्त गरेता पनि जीवन पर्यन्त सिक्ने र सिकाउने अनौपचारिक शिक्षा अगाडि बढिरह्यो ।
वि.सं. २०३२ सालमा पुतली सुवेदीसँग वैवाहिक बन्धनमा बाँधिनु भयो । उहाँका दुई छोरा र दुई छोरी छन् ।
उहाँ कतिका मार्गदर्शक बन्नुभयो ? सुखको घडीमा होस् अथवा दुःखको घडीमा उहाँको अनुहार सहजै भेटिन्थ्यो । मर्दापर्दा थाहा पाएसम्म सिकाउन उहाँ पुग्नुहुन्थे भने अभिभावकको भूमिकामा आफ्नो क्षेत्रमा सहजै आफूलाई चिनाउनु भएको थियो ।
वि. सं. २०३९ सालमा जयश्री सिंचाई कुलोको निर्माण र व्यवस्थापन गरी अध्यक्ष पदमा सोही अवधिदेखि नमरुन्जेलसम्म नै गैंडाकोटको भूमिलाई उर्वर बनाउन सहयोग गर्नुभयो ।
उहाँले आफ्नो जीवनलाई सामाजिक, राजनीतिक एवम धार्मिक क्षेत्रमा समर्पित गर्नुभयो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, राधाकृष्ण मन्दिर, कोटेश्वर मन्दिर, चण्डिकादेवी मन्दिर, रिमाल कूल मन्दिरका आजिवन सदस्य रहनु भएको छ । विभिन्न धार्मिक क्षेत्रमा उहाँको योगदान रह्यो ।
गैंडाकोटको जनक माध्यमिक विद्यालय र सो को प्राथमिक शाखा समितिको विद्यालय व्यवस्थापन समितिमा रहेर कार्य गर्नुभयो ।
२०४२ सालको गा.स.स. को निर्वाचनमा गैंडाकोट ४ बाट निर्वाचित हुनुभएको थियो। प्रजातन्त्रको पुनस्थापना अर्थात् २०४८ साल पछिका दुई स्थानीय निर्वाचनमा गैंडाकोट ४ को वार्ड अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भई समाज विकासको अभियानमा योगदान पु–याउनुभयो ।
स्वर्गीय सूर्यभक्त अधिकारीको आग्रहमा गैंडाकोटमा रहेको खानेपानी (पिउने पानी) को समस्या समाधानका लागि उहाँ कम्मर कसेर लाग्नुभयो । वि. .सं. २०४८ सालमा जलुके खानेपानीको अध्यक्ष भई कार्य शुभारम्भ गर्नुभएको उहाँले डिप बोरिङबाट जजुवामा पानी निकाल्न कोसिस गर्नुभयो । अध्ययन कै क्रममा गैंडाकोट पम्पिङ खानेपानी रहेको स्थानमा बोरिङबाट पानी निकाल्न सफल भएपछि छुट्टै संस्था स्थापना गरी आफूलाई खानेपानी बा ! को दर्जामा उभ्याउनुभयो ।
गैडाकोट पम्पिङ स्किम तथा खानेपानी उपभोक्ता सरसफाइ संस्थामा हाल ६००० भन्दाबढी उपभोक्ताले लाभ लिइरहेका छन् । उक्त संस्थाका परिकल्पनाकार, संस्थापक अध्यक्ष उहाँ नै हुनुहुन्थ्यो उहाँले वि.सं. २०५३ सालदेखि २०७३ सालसम्म र २०७६ सालदेखि २०७८ सालसम्म सो संस्थाको अध्यक्षमा रही भूमिका निर्वाह गर्नुभयो ।
गैंडाकोटमा रहेको विनायक कृषि सहकारी संस्थाका पूर्व सञ्चालक, विकू वचत तथा ऋण सहकारी संस्था, किसान बचत तथा ऋण सहकारी संस्था लि., सामुदायिक रेडियो विजय एफएम १०६. का सदस्य रहनुका साथै थुप्रै संघसंस्थामा रहेर कार्य गर्नुभयो ।
वि.सं. २०२९ सालदेखि नै नेवी संघमा रहेर कार्य गर्नुभयो । नेपाली काङ्ग्रेस विश्वेश्वरप्रसाद कोइरालाको चिन्तनलाई निरन्तर बोकेर हिड्नुभयो । जसको फलस्वरुप कहिले वार्ड त कहिले बुथ सभापति भएर कार्य गर्नुभयो । उहाँ नेपाली काङ्ग्रेस गैंडाकोटका निवर्तमान उपसभापति समेत रहनु भएको थियो ।
राजनीतिक चिन्तन जे भएपनि घरपरिवार, आफन्त र इष्टमित्र सबैका साझा व्यक्ति हुनुहुन्थ्यो । समाजमा मर्दापर्दा सुन्न , देख्न र सहयोग लिन पाइन्थ्यो । उहाँले हरेक समय समाजसेवामा खार्चिएर आफ्नो व्याक्तिगत जीवनमा धनसम्पति नकमाए पनि आफन्त र इन्टमित्र कमाएकोमा गर्व गर्नुहुन्थ्यो । घरपरिवारबाट पूर्ण सहयोग प्राप्त भएको र इज्जत कमाएकोमा खुसी व्यक्त गर्नुहुन्थ्यो।
उहाँको राजनैतिक, समाजिक एवम् धार्मिक जीवन सादगीपूर्ण रहयो । उहाँले आफ्नो जीवनलाई एउटा फूलसँग तुलना गर्नुहुन्थ्यो। जसरी फूल कोपिलाबाट फक्रन्छ र झर्छ । त्यस्तै गरि हाम्रो जीवन पनि पहिला कोपिलासरी कोमल हुन्छ, फूल फर्कदा जीवनमा अनेक सङ्घर्ष गरेर एक पहिचान बनाउँछौँ, नाम कमाउँछौँ र अन्त्यमा फूल झरे जसरी हामी पनि भौतिक संसारबाट विलिन हुन्छौँ । त्यसले हामीले कर्म गर्नबाट पछि हट्नु हुदैन । मर्दा कसैले केही लादैन, आफ्नो काम, कृति छाडेर जान्छौं भनि जीवनलाई विश्लेषण गर्नुहुन्थ्यो ।
उहाँको सम्मान स्वरूप गैंडाकोट पम्पिङ स्किम तथा खानेपानी उपभोक्ता सरसफाइ संस्थाको परिसरमा २०८१ साल फाल्गुन १४ गते महाशिवरात्रीका दिन अर्धकदको सालिक निर्माण गरि अनावरण गरिएको छ ।
उहाँ वि. सं. २०७९ साल मङ्सिर ४ गते साँझ ७ः०० बजे दिल्लीको अपोलो अस्पतालमा ६६ वर्षको उमेरमा दिवङ्गत हुनुभयो । उहाँको भौतिक शरीर हामी माझ नरहेता पनि उहाँका सिद्धान्त, विचार, चिन्तन र योगदान अविस्मरणीय रहने छन् ।
निश्पक्षता, तटस्थता र सुशासनलाई आफ्नो जीवनको मूल्य ठान्ने उहाँको निधनले समाज, नगर र राष्ट्रलाई क्षति पुगेको छ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर