‘आन्तरिक अर्थतन्त्र लयमा फर्केको छ तर, चुनौती कायम छ’ कामु, गर्भनर – ढुंगाना

वि.सं.२०८२ वैशाख १५ सोमवार
shares

काठमाडौं।नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवको अवसरमा कामु गर्भनर नीलम ढुंगानाले लामो मन्तब्य दिएकी छिन् । उनले नेपालको अर्थतन्त्र र त्यसको अवस्थाका बारेमा बिश्लेषणसहितको बिवरण प्रस्तुत गरेकी छिन् ।
अधिक तरलता र न्यून ब्याजदरका साथै बाह्य क्षेत्र परिसूचकहरू सबल रहेको सन्दर्भमा मौद्रिक क्षेत्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन हदैसम्मको प्रयास गरिएको उनको भनाई छ । उनको मन्तब्यको सार यस प्रकार छ ः
पछिल्लो उपलब्ध सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिको तथ्याङ्कले आर्थिक गतिविधिमा सुधार हुँदै गएको आँकलन गर्न सकिन्छ ।
विगतमा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित हुन गई निष्क्रिय कर्जा अनुपात बढेकोमा आर्थिक गतिविधिमा सुधार भएसँगै निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुने अपेक्षा छ । वित्तीय स्थायित्वका लागि अपनाइएका नियमनकारी व्यवस्थाको प्रभावसमेत देखिँदै गएको छ । यसरी मौद्रिक, वित्तीय तथा विदेशी विनिमय नीतिमार्फत समिष्टगत आर्थिक स्थायित्व कायम राख्न नेपाल राष्ट्र बैंक कटिबद्ध छ । तथापि, पछिल्लो समय खासगरी अमेरिकी अन्तर्राष्ट्रिय व्यापार एवम् आर्थिक सहयोग नीति र भूराजनीतिक तनावजस्ता बाह्य कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम भने कायमै छ ।
वार्षिकोत्सवको अवसरमा बैंकका उद्देश्य प्राप्तिका लागि आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका बैंकका सञ्चालक समितिका पदाधिकारी र सम्पूर्ण कर्मचारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, बैंकको कार्यसम्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकारका विभिन्न निकायहरू, बैंक तथा वित्तीय संस्था,अन्तर्राष्ट्रिय दातृ निकाय, सञ्चारमाध्यम र शुभेच्छुकहरूप्रति समेत म हार्दिक आभार व्यक्त गर्दछु ।
यस बैंकको उद्देश्य प्राप्तिका लागि अग्रपंक्तिमा रहेर अहोरात्र खटिने कर्मचारीहरू धन्यवादका पात्र हुनुहुन्छ ।बैंकको ७० औं वार्षिकोत्सवको यस गरिमामय अवसरमा बैंकका सम्पूर्ण कर्मचारी र अन्य सम्बद्ध सबैलाई हार्दिकशुभकामना व्यक्त गर्दै बैंकको उद्देश्य प्राप्तिमा आगामी दिनमा थप जुझारु, लगनशील र दत्तचित्त भई यस बैंकको
गरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्ने गरी काम गर्न सम्पूर्ण कर्मचारीहरूलाई म आग्रह गर्दछु ।
वार्षिकोत्सवको अवसरमा २० वर्षे सेवा उपहारबाट सुशोभित हुनुहुने कर्मचारीहलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको बैंकप्रतिको समर्पणको म उच्च सम्मान गर्दछु । यसका साथै, नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका
अवसरमा सर्वोत्कृष्ट र उत्कृष्ट सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई बधाई ज्ञापन गर्दछु ।
त्यसैगरी, यस अवसरमा खेलकूदलगायत विभिन्न विधामा पुरस्कृत र सहभागी सम्पूर्ण कर्मचारीलाई समेत म हार्दिक बधाई ज्ञापन गर्दछु ।
यस बैंकको कामकारबाहीलाई सफल तुल्याउन निरन्तर सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालयलगायत अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका संघसंस्था, सञ्चार क्षेत्र, प्रवुद्ध वर्ग, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्य दातृ निकाय, अन्तर्राष्ट्रिय संघसंस्था र सर्वसाधारण सबैमा यस अवसरमा म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
आगामी दिनमा पनि सरोकारवालाहरू सबैबाट सदाझैं बैंकलाई निरन्तर सहयोग प्राप्त हुनेमा म विश्वस्त छु ।