लघुकथा :मोह

वि.सं.२०८२ वैशाख २५ बिहीवार
shares

“ तरकारी खेती गरेर जहान पालौँला भनेको त , नहुने रहेछ । आफ्नो जीवन मात्र हो र ? उनले समेत दु:ख पाउने भइन् । ´´ निराशा भावमा गौँरीशङ्करले भने ।
सही थाप्दै मधुविलासले भने , “ त्यहीँ त भन्या , जाडो गर्मी नभनेर परिश्रम गर्यो । तरकारी बेच्ने बेलामा बजार भाउ नै हुँदैन ।´´
“ त्यति मात्र हो र ? बैंकको व्याज र जरिवाना अनि घर खर्च कसरी पुर्याउने ? केही नयाँ व्यवसाय गरौँ भने पनि न त पूँजी छ , न त सीप नै ! देशमा रोजगारीको त वातावरण नै भएन , झनै वैराग लाग्छ ।´´ खुइ..य ! गर्दै गौँरीशङ्करले थपे ।
उनीहरु दुबैजना तरकारी खेतीमा पसिना पनि खन्याउँदै थिए , एकआपससमा दु:ख पनि बाँड्दै थिए । न त बेलामा मलखाद पाइन्छ , पानी नपाएर खङ्ग्रङ्ग भएका बोट बिरूवा हेरेर मधुविलास एकोहोरो घोरिरहे ।
उनको भावमुहार पढेका गौँरीशङ्करले भने , “यस्तो पाराले त छोराछोरी पढाउन पनि गाह्रो हुने भयो । हुर्केका छोराछोरी अर्काको देखासिखी गर्छन् । कसरी पुर्याउने ? ´´
निधारको पसिना पुछ्दै मधुविलासले मलिन स्वरमा भने , “ युवाहरू विदेश पलायन हुँने मोह दिनानुदिन बढ्दै जानुको कारण पनि यस्तै भएर त होला । ´´
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर