धादिङका नेत्रराज पौडेल बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नियुक्त
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ जना सदस्य नियुक्त गरेको छ
वि.सं.२०८२ जेठ १४ बुधवार
shares
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ जना सदस्य नियुक्त गरेको छ । मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको समितिमा २ सदस्य थप गर्ने निर्णय सहित मन्त्रीपरिषद्ले बागमती प्रदेश सहकारी संघका महासचिब एवम थाक्रे गाउँपालिका–११ धादिङका नेत्रराज पौडेल र रामेछापको मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतका अनुसार ६ सदस्यीय समितिमा तत्कालीन सरकारले ३ जनालाई नियुक्त गरेको थियो भने एक महिला अनिवार्य गरेकाले हाल २ सदस्य नियुक्त गरिएको हो । समितिमा थप एक जना नियुक्त गर्न बाँकी रहेको छ।
समितिलाई प्रदेश सहकारी ऐन २०७६ को दफा ८३ बमोजिमको काम, कर्तव्य र अधिकार रहने व्यवस्था छ । व्यवस्था अनुसार समितिले समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने अधिकार हुन्छ।
समितिले गर्ने कार्यहरुको विषयमा थप जानकारी प्राप्त गर्न सिंहदरबार न्यूजले समितिका सदस्य नेत्रराज पौडेलसंग गरीएको टेलिफोन संवादलाई तलको लिंकमा सुन्न सकिनेछ ।





























