आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यसहित : अर्थमन्त्री पौडेल
वि.सं.२०८२ जेठ १७ शनिवार
shares
काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित ल्याइएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा शनिबार आयोजित पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री पौडेलले बजेट सकारात्मक प्रक्रिया अवलम्बन गरेर ल्याइएको बताउँदै यसको कार्यान्वयन पनि सकारात्मक हुने विश्वास व्यक्त गरे। “विगतमा ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको सन्दर्भमा ६ प्रतिशतको लक्ष्य व्यवहार्य छ,” उनले भने।
उनका अनुसार बजेट निर्माण बजेटीय सिद्धान्तको पालना गर्दै सीमाभित्र रही स्रोत व्यवस्थापनका आधारमा गरिएको हो। उनले राजस्व लक्ष्य पनि प्राप्त हुने विश्वास व्यक्त गर्दै आर्थिक वर्षको अन्त्यसम्म प्रश्न उठ्ने अवस्था आउन नदिइने बताए।
राजस्व संकलनका लागि थोरै मेहनत आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “काम नगरेर लक्ष्य पूरा हुँदैन, काम गरेमा सम्भव छ।” सार्वजनिक ऋणका सम्बन्धमा पौडेलले ऋणको मात्रामा होइन, साँवा र ब्याज तिर्ने क्षमतामा ध्यान दिइएको उल्लेख गरे।
“स्रोतको चिन्ता गर्नुपर्ने अवस्था छैन,” उनले भने, “आवश्यक स्रोत व्यवस्थापन गरी बजेट ल्याइएको हो।”
अर्थमन्त्री पौडेलले विगतमा साना–साना योजनामा बजेट लोड गर्दा समस्या आएको स्वीकार गर्दै यो बजेटले त्यसको समाधान गरेको बताए। “खुद्रा योजनामा बजेट होसियार ढंगले विनियोजन गरिएको छ,” उनले भने।
बजेटले निजी क्षेत्रलाई सरकार गम्भीर रहेको सन्देश दिएको पौडेलले बताए। निजी क्षेत्रका सबै विधामा सरकार क्रियाशील रहेको उल्लेख गर्दै उनले निर्माण क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार सक्रिय रहेको जानकारी गराए।
कानुन संशोधन आवश्यक रहेको विषयमा समेत सरकार तयार रहेको स्पष्ट पार्दै पौडेलले आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्न सबै सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
खनिज स्रोतको वातावरणमैत्री उपयोगमा बजेटले ध्यान दिएको भन्दै अर्थमन्त्रीले वातावरणमा असर नपर्ने गरी स्रोत प्रयोगको आवश्यकता औंल्याए। बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य अपरिहार्य रहेको पनि उनले जोड दिए।





























