नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराउँदै लिग टुमा उत्कृष्ट प्रदर्शन
वि.सं.२०८२ जेठ २१ बुधवार
shares
काठमाडौं। आइसिसी विश्वकप लिग टु अन्तर्गत बुधबार स्कटल्याण्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको छ। २२५ रनको लक्ष्य पछ्याउँदै नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो।
नेपालको जितमा आरिफ शेखले महत्वपूर्ण भूमिका निर्वाह गरे। उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७८ रनको शानदार अर्धशतक बनाए। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ३ चौकासहित अविजित ३८ रन बनाए। यी दुईले पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डो¥याएका थिए।
ओपनर कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रनको योगदान दिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा समेटिएको थियो। नोहा कोर्सले ५ चौकासहित सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एडवार्डसले ४ चौकासहित ४६ रन बनाए।
नेपालका बलरहरूमध्ये सोमपाल कामीले ३ विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए।
नेपालले उत्कृष्ट सुरुवात गर्दै ५ ओभरभित्रै नेदरल्याण्ड्सका दुवै ओपनरहरू माइकल लेभिट र म्याक्स ओ’डाउडलाई सस्तैमा पवेलियन फर्काएको थियो। सन्दीप लामिछानेले दुईवटा महत्वपूर्ण साझेदारी तोडेका थिए।
यो जितसँगै नेपालले लिग टुमा १४ खेलबाट १० अंक जोडेको छ र सातौं स्थानमा छ। नेदरल्याण्ड्स भने २१ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा यथावत छ।
लिग टु सन् २०२७ को ओडीआई विश्वकप छनोटका लागि महत्त्वपूर्ण मानिन्छ। अन्त्यमा शीर्ष ४ स्थानमा रहने टोलीले विश्वकप ग्लोबल छनोटमा सिधा स्थान बनाउनेछ भने पुछारको चार टोलीले प्लेअफ खेल्नुपर्नेछ।
नेपालका बाँकी खेलहरू:
१. जेठ २५ (जुन ८), आइतवार – स्कटल्याण्डविरुद्ध
२. जेठ २७ (जुन १०), मंगलवार – नेदरल्याण्ड्सविरुद्ध
त्यसपछि असार १ (जुन १५) आइतवारबाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टि-२० आई सिरिज सुरु हुनेछ।
































