नेपालले नेदरल्याण्ड्समाथि ऐतिहासिक लगातार दोस्रो जित हात पार्यो
वि.सं.२०८२ जेठ २७ मंगलवार
shares
काठमाडौँ।आईसीसी विश्वकप लिग–टु अन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै ऐतिहासिक लगातार दोस्रो जित हात पारेको छ।
स्कटल्याण्डको डन्डीस्थित खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्स ४९.२ ओभरमा २२० रनमै अलआउट भयो।
नेपालका लागि युवा खेलाडी नन्दन यादव र सन्दीप लामिछानेले ३–३ विकेट लिए। ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिएर नेपाललाई जितमा पुर्याए।
नेपालको ब्याटिङमा आरिफ शेख सर्वाधिक ८४ रनको योगदान गर्दै चम्किए। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यो उनको ओडिआई करियरको सर्वाधिक व्यक्तिगत स्कोर हो। आरिफले यसअघि पनि नेदरल्याण्ड्सविरुद्ध ७८ रन बनाएका थिए।
भीम सार्कीले ३५ रन, कप्तान रोहितकुमार पौडेलले २९ रन, उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन, बसिर अहमदले ११ रन तथा करण केसीले ११ रन बनाए। ओपनर कुशल भुर्तेल १८ रनमा आउट भए भने अनिल साहले २ रन मात्रै जोडे।
नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले ३६ रन बनाए। माइकल लेभिटले २७, कप्तान स्कट एडवार्डसले ३०, नोहा क्रोसले २२, काइल क्लेनले २५ तथा मिर्भोले १६ रन बनाए।
नेपालविरुद्धको दोस्रो इनिङको सुरुवातमै नेदरल्याण्ड्सले बल नखेली १० रन पाएको थियो, जुन नेपालका ढिला ओभर रेटका कारण पेनाल्टीस्वरूप दिइएको हो।
नेदरल्याण्ड्सका पल भान मेकरेनले ४ विकेट लिए भने माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए।
यस जितसँगै नेपाल ८ राष्ट्र सहभागी लिग–टु तालिकामा १६ खेलबाट १२ अंकसहित सातौं स्थानमा उक्लिएको छ। पराजित नेदरल्याण्ड्स २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमै यथावत् छ।
नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको यो पहिलोपटक हो, जसले नेपाली क्रिकेटको आत्मविश्वासमा ठुलो उर्जा थपेको छ।
































