सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङको दामोदरकुण्ड र गुरुसाङ्वो गुफा पदमार्गमा दुई झोलुङे पुल निर्माण हुने

2.6K
shares

 

जोमसोम।संघीय सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङ जिल्लाको दुई महत्वपूर्ण धार्मिक पदमार्गहरूमा झोलुङे पुल निर्माण हुने भएको छ। नेपाल सरकारको अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झोलुङे पुल निर्माणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

निर्माण हुने दुई पुलमध्ये पहिलो लोघेकर दामोदरकुण्ड पदमार्ग अन्तर्गत भर्सा खोलामा ४७० मिटर लामो हुनेछ भने दोस्रो थासाङ गाउँपालिका–२ को नाउरिकोट–गुरुसाङ्वो गुफा पदमार्गमा ४६० मिटर लामो पुल निर्माण गरिनेछ। यी दुवै पुल सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत निर्माण गरिने जनाइएको छ।

सस्पेन्सन ब्रिज डिभिजनका इञ्जिनीयर प्रवेश रेग्मीका अनुसार दामोदरकुण्ड जाने भर्सा खोलाको पुलको लागत अनुमान ११ करोड ४६ लाख रुपैयाँ रहेको छ भने गुरुसाङ्वो गुफा मार्गको पुल लागत ६ करोड रुपैयाँ रहेको छ। बहुवर्षीय ठेक्काको स्वीकृति पाउन अर्थ मन्त्रालयमा प्रक्रिया अघि बढाइएको र स्वीकृति प्राप्त भएलगत्तै ठेक्का प्रक्रिया सुरु हुने बताइएको छ।

दामोदरकुण्ड धार्मिक स्थल समुद्री सतहदेखि ५१०७ मिटर उचाइमा रहेको छ। पुल निर्माणपछि हालको ९ घण्टाको पैदल यात्रा ५ घण्टामा छोटिने अनुमान गरिएको छ। यसले तिर्थ यात्रीहरुलाई यात्रा सजिलो बनाउने छ।

यस्तै, थासाङ–२ मा पर्ने गुरुसाङ्वो गुफा जानका लागि हाल मुख्य सडकबाट पैदल एक घण्टा लाग्ने यात्रा पुल निर्माणपछि आधा घण्टा कम हुने वडाध्यक्ष गौतम शेरचनले बताए। गुरुसाङ्वो गुफा गुरु पद्यसम्भवले ध्यान गरेको महत्वपूर्ण धार्मिक स्थल हो।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले संघीय सांसद भट्टचनको सक्रियतामा पुल निर्माणको डीपीआर सम्पन्न भइसकेको र बजेट समेत विनियोजन भएको बताए। निर्माण सम्पन्न भएपछि तीर्थयात्रा, धार्मिक पर्यटन तथा स्थानीय विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals