हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने अन्तिम चरणमा, प्रधानमन्त्री ओलीको ऐतिहासिक घोषणा

1.6K
shares

काठमाडौं। देशको सबैभन्दा दुर्गम र सडक सञ्जालबाट टाढिएको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिने भएको छ। योसँगै सिमकोट देशको सडक नक्सामा समावेश हुने अन्तिम सदरमुकाम बन्नेछ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सिमकोटमा मोटर सडक पुग्न लागेको सूचना सार्वजनिक गर्दै यस उपलब्धिलाई “राष्ट्रिय स्वाभिमानसँग जोडिएको दशकौँ पुरानो सपना” भएको उल्लेख गर्नुभएको छ। ओलीले लेख्नुभएको छ, “हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।”

प्रधानमन्त्री ओलीले पहिलो कार्यकालमै कर्णाली कोरिडोर र हिल्सा नाका हुँदै चीनसँग वैकल्पिक व्यापारिक मार्ग खोल्ने रणनीति अघि सार्नु भएको थियो। सोही योजनाको निरन्तरतास्वरूप सिमकोट सडक सञ्जालमा समेटिन लागेको हो।

नेकपा (एमाले) का अर्का नेता दल रावलले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै खार्पुस्थित दोजामखोलामा वेलिब्रिज निर्माणपछि सिमकोट औपचारिक रूपमा सडक सञ्जालमा जोडिएको पुष्टि गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “यस उपलब्धिका लागि हुम्लावासी प्रधानमन्त्रीज्यूप्रति आभारी छन्।”

सडक निर्माणसँगै सिमकोटको पहुँच केवल भौगोलिक रूपमै सहज नभएर व्यापारिक तथा कूटनीतिक दृष्टिकोणले पनि नेपालका लागि दूरगामी परिणाम ल्याउने विश्वास गरिएको छ। हिल्सा नाकामार्फत तिब्बतको पुराङसँग सिधा सम्पर्क हुने भएकाले यसलाई चीनसँगको वैकल्पिक व्यापारिक मार्गका रूपमा हेरिएको छ।

सिमकोट सडक सञ्जालमा नजोडिँदासम्म दैनिक उपभोग्य सामग्रीदेखि औषधि, निर्माण सामग्री र खाद्यान्नसम्म सबै हवाई मार्गबाट ल्याउनु परेकाले हुम्लावासीको जीवन अत्यन्त महँगो थियो। अब भने सस्तो लागतमा ढुवानी सम्भव हुने भएपछि जनजीवन सहज हुने अपेक्षा गरिएको छ।

स्थानीय उत्पादनलाई बाह्य बजारमा पुर्‍याउन सजिलो हुने भएकाले कृषि र व्यापारमा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ। सँगसँगै स्वास्थ्य सेवा, सञ्चार र शिक्षा क्षेत्रमा पनि गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीको फेसबुक पोस्टमा सयौँ प्रतिक्रियाहरू आएका छन्। तीमध्ये यम चौधरीले लेखेका छन्, “हुम्लाको सिमकोट बजार र भूगोललाई मैले राम्रोसँग बुझेको छु। विभिन्न प्रकारका जडीबुटी, अर्ग्यानिक उत्पादन र जीवनशैलीले हुम्लालाई विश्व बजारमा चिनाउन सक्छ। तर, सडक सञ्जालको अभावले त्यस क्षेत्र पछाडि परेको थियो। अब भने हुम्ला टाढा छैन।”

वर्षौंदेखि सिमकोट सडक सञ्जालबाट अलग थलग रहेको अवस्थाबाट बाहिरिँदै छ। अबको केही दिनमा सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि न केवल हुम्लाको विकासको ढोका खुल्नेछ, समग्र राष्ट्रको भू-आर्थिक स्वरूप पनि सुदृढ बन्नेछ।

civil hospital
Hams Hospitals