नेपालको शानदार सुरुआत: एएफसी महिला एसियन कप छनोटमा लाओसलाई ९–० ले हरायो
वि.सं.२०८२ असार १५ आइतवार
shares
काठमाडौं।एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा शानदार प्रदर्शन गर्दै लाओसलाई ९–० को विशाल अन्तरले पराजित गरेको छ। उज्वेकिस्तानमा जारी छनोट प्रतियोगिताको समूह ‘एफ’ अन्तर्गत सोमबार राति भएको खेलमा नेपाली टोलीले आक्रामक शैलीमा खेल्दै जित हात पारेको हो।
नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानको रुपमा डेब्यु खेलमै ५ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। उनी नेपाली महिला फुटबलको इतिहासमै कप्तानको रुपमा डेब्यु खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन्।
अन्य गोलकर्तामा सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसी रहेका छन्, जसले एकएक गोल थपे।
नेपालले खेलको १२औं मिनेटमै अनिता बस्नेतको गोलबाट अग्रता लिएको थियो। त्यसपछि ४४औं मिनेटमा कप्तान साम्बाले दोस्रो गोल गर्दै पहिलो हाफमा २–० को अग्रता बनाइन्। दोस्रो हाफमा नेपालले झनै आक्रामक शैली अपनाउँदै थप ७ गोल गर्यो।
समूह ‘एफ’ मा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका रहेका छन्। पहिलो खेलमा शानदार जित निकाल्दै नेपालले समूह चरणको राम्रो सुरुआत गरेको छ।
नेपाल अब असार १८ गते श्रीलंका र असार २१ गते आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष स्थानमा रहन सके नेपाल अर्को चरणमा प्रवेश गर्नेछ।
यो जितले नेपाली महिला फुटबल टोलीको मनोबल उच्च बनाएको छ भने अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।































