भुकम्पले थिलथिलो बनाएको विद्यालय भवनमै अझै पढिरहनु पर्ने बाध्यताः “कति वर्ष पर्खन पर्ने हो सुरक्षित शिक्षाको लागि?”
वि.सं.२०८२ असार १८ बुधवार
shares
धादिङ । बेनिघाट रोराङ– २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालभरका हजारौँ संरचनासंगै विद्यालयहरुलाई पनि ठुलो क्षति पुर्यायो । दशक बितिसक्दा पनि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० खोरभन्ज्याङमा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालय अझै पनि त्यो भूकम्पपछिको झट्काबाट उकासिन सकेको छैन । फुटेको पर्खाल, चुहिने र चिरा परेको ढलानमुनि जोखिम मोलेर ३०० भन्दा बढी बालबालिकाले दैनिक अध्ययन गरिरहेका छन् । १० कोठे भवन थिलथिलो भएको छ । फलामको टेकोले अड्याएर राखिएको छ तर पुननिर्माणको आशामा दशकदेखि टुटेका सपना अझै जोडिएका छैनन्। स्थानीय अभिभावक डोल्मा कुमारी चेपाङ भन्छिन् “हामीले यही विद्यालयबाट बालबच्चाको भविष्य खोजेका हौ तर सानो मौसमी बदली हुँदा पनि २०७२ सालको त्रासले सताउँछ” ।
राजनीतिक नेतृत्वको वाचा र काम शून्य
जिल्लामा बिपतमा परेका संरचना निर्माणको लागि डिएलपिआईपी खडा गरेर बिद्यालय निर्माण भए तर बेनिघाट रोराङ १० खोरभञ्ज्याङको भत्किएको १० कोठे भवन निर्माणमा कुनै चासो दिईएन जिर्ण वन्दै गैरहेको संरचना कति खेर भत्कने हो भन्ने त्रासमा शिक्षक बिद्यार्थी अभिभावक सधै चिन्तीत रहनु पर्ने बाध्यतामा रहेका छन् । गत वर्ष प्रदेश सरकारबाट भौतिक सबलिकरण अन्तर्गत ८ लाख बजेट विनियोजन भएको थियो । पिल्लर उठाएर राखिएको छ तर उक्त भवन बनाउन कहि कतैबाट सहयोग पाउन सकिएन । यो क्षेत्रबाट संघीय र प्रदेश तहमा मन्त्री बनेका नेताहरुले पटकपटक विद्यालय पुननिर्माणको वाचा गरेका थिए । संघीय सांसद राजेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेल, हालका गरिबी निवारण मन्त्री मधु श्रेष्ठजस्ता नेताहरुले “यस पटक बजेट पर्छ” भन्ने वचन दिएका थिए तर चालु आर्थिक वर्षको बजेट पुस्तक पल्टाउँदा त्यस्तो कुनै योजना देखिदैन । आश्वासन मात्र दिने काम नगर्ने गरेको र विद्यालयप्रति उपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापकले बताए ।

स्रोत पुगेका छन्, तर पहुँच छैन
जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा प्रदेश सरकारको श्रोत राम्रै मात्रामा पुगेको देखिन्छ तर वडा नं १० मा रहेको यो विद्यालयजस्तो आधारभुत आवश्यकताको संरचना भने छुटाईएको छ । अनावश्यक योजनामा बजेट परेको छ तर जोखिममा परेका बालबालिकाको विद्यालयमा सरकार र सरोकारवालाको आँखा किन नपुगेको ? भन्ने प्रश्न आम समुदायको छ ।
यस विद्यालयमा अध्ययनरत करिब ८० प्रतिशत विद्यार्थीहरु सिमान्कृत चेपाङ,दलित र अन्य विपन्न समुदायबाट आएका छन् । सुरक्षित शिक्षा पाउने संवैधानिक मौलिक हक उनीहरुको हक मात्रै होईन, राज्यको जिम्मेवारी पनि हो ।
शिक्षा अधिकार र गणतन्त्रको अनुभूति कहाँ?
शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक गोकर्ण रुपाखेती भन्छन् “ खचाखच भरिएका कक्षाकोठा, चुहिने ढलान, जोखिमयुक्त संरचना देख्दा गणतन्त्रको अनुभूति जनताले कसरी गर्ने? राज्यका निकायहरु जिम्मेवार बन्नैपर्छ” उनले सुरक्षित शिक्षा सुनिश्चित गर्न सरकार, दातृ निकाय र सबै सरोकारवालासंग सहयोगको अपिल गरेका छन् ।
सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्न पाउने वारेमा संबिधानमा मौलिक हकको रुपमा लिपिवद्ध भएको छ तर दशक वित्दा पनि एक सामान्य विद्यालय भवन नबन्दा समग्र शिक्षा प्रणालीमाथि प्रश्न उठेको छ । नयाँ संबिधानले ३ तहको सरकारको परिकल्पना गरेको छ यि सरकारले पहिलो कार्यकाल सम्पन्न गरी दोस्रो कार्यकाल व्यतित गरिरहेका छन् । जनप्रतिनिधिहरु सत्ताको फाईदामा केन्द्रित देखिन्छन तर बालबालिकाले भत्केको जोखिमपुर्ण भवनमा त्रास नै त्रासमा अध्ययन गर्न परेको छ । जसले गर्दा बालबालिकाको शिक्षाको माध्यामबाट परिकल्पना गरिएको सुनौलो भविष्य निर्माणमा गम्भिर असर परिरहेको छ ।

राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कति वर्ष पढ्नुपर्ने हो त्यो जोखिमपुर्ण भवनमा? अनि कहिले आउँछ सुरक्षित वातावरणमा कुनै त्रास विना ढुक्क साथ शिक्षा आर्जन गर्न पाउने त्यो सुनौलो बिहानी?

































