भिजिट भिसा प्रकरण : त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा व्यापक सरुवा, ४४ शाखा अधिकृत फिर्ता
वि.सं.२०८२ साउन ५ सोमवार
shares
काठमाडौँ।गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ४४ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। भिजिट भिसा प्रकरणलगत्तै अध्यागमन कार्यालयमा व्यापक फेरबदल गर्दै मन्त्रालयले नयाँ ४४ जना शाखा अधिकृत खटाएपछि त्यहाँ कार्यरत सोही संख्याका अधिकृतहरूलाई फिर्ता बोलाइएको हो।
गृह मन्त्रालयका अनुसार सरुवा गरिएका ३९ जना अधिकृतलाई मन्त्रालय अन्तर्गतका अन्य निकायहरूमा पठाइँदैछ भने बाँकी ५ जना अधिकृतहरूलाई अध्यागमन विभागले वीरगञ्ज र भैरहवा कार्यालयमा खटाएको छ। वीरगञ्ज र भैरहवातर्फ सरुवा गरिनेहरूमा मार्सल पन्त, सिद्धराज शर्मा, लोकेन्द्र बहादुर विष्ट, हेमराज जोशी र सुवास शर्मा पौडेल रहेका छन्।
मन्त्रालय स्रोतका अनुसार सरुवा गरिएका अधिकृतहरूलाई छिट्टै, सम्भवतः मंगलबारसम्म, नयाँ कार्यस्थलमा खटाइसक्ने तयारी भइरहेको छ।
यो सरुवालाई गृहले “प्राथमिकता आधारित” सरुवा बताएको छ। दोहोर्याएर वा तेहेराएर अध्यागमन कार्यालयमै सेवा दिइरहेका र गृह मन्त्रालय बाहिरैबाट सिधै पहिलो नियुक्ति पाएका अधिकृतहरूलाई प्राथमिकतामा राखेर सरुवा गरिएको जनाइएको छ।
यसपटकको सरुवा सूचीमा उल्लेखित ४४ जना शाखा अधिकृतहरूमा मोहनप्रसाद निरौला, गणेश विक्रम शाह, जुगल चबहादुर खत्री, नवराज शर्मा जैसी, लक्ष्मी कुमारी पन्त, प्रमोद बहादुर चन, दीपक पौडेल, भाग्यराज भट्ट, सुलभ शुभ श्रेष्ठ, दल बहादुर बस्नेत, टिकाराम निरौला, नवराज अवस्थी, कुमारी जानकी काली, अर्चना खत्री, मिना कुँवर, ज्योति भट्ट जोशी, श्रुजना पौडेल, आनन्द सिंह, प्रभा अर्याल, रेशम बुढा क्षेत्री, न्युटन लम्साल, सुन्दर बान्ता, चन्द्रकुमार खड्का क्षेत्री, शिव कुमार राई, नरबहादुर बुढा लगायत छन्।
सरुवाको यो निर्णय विभागीय प्रमुखदेखि अध्यागमन अधिकृतसम्म कार्यरत कर्मचारीहरूमा लागू गरिएको छ। मन्त्रालयले अध्यागमन प्रणालीमा सुधार ल्याउने उद्देश्यसहित शुद्धिकरण प्रक्रिया थालेको भन्दै यस्ता कदमलाई निरन्तरता दिने जनाएको छ।






























