एनबी बैङ्क डुबाएका ज्ञानेन्द्र एनआईसी छिर्ने दाउमा, नबिलका भूपेन्द्रलाई सिनियर डेपुटीको ‘ललिपप’
वि.सं.२०८२ साउन १८ आइतवार
shares
काठमाडौँ । कुनै समय देशकै अग्रणी वित्तीय संस्थामध्ये एक मानिने नेपाल बङ्गलादेश बैंक (NBB) यति बेला अस्तित्वमै छैन। यसको मुख्य कारण असक्षम नेतृत्वको खराब व्यवस्थापन मानिएको छ।एनबीबी बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुङ्गानाको निजी स्वार्थसँगै तयार मारवाडी पोस्ने योजनालाई उनैले मूर्तरूप दिएपछि उक्त बैङ्क नबिल बैङ्कमा विलीन भयो, हजारौँ लगानीकर्ता मारमा परे। सयौँ कर्मचारीलाई बेरोजगार बनाएर उनी नबिलको सिइओ बने।
हुँदा खाँदाको नबिल बैङ्कको जागिर छोडेर नियामक निकाय हत्याउन तम्सिएका ज्ञानेन्द्र गभर्नरको रेसमै नपरेपछि फेरि वाणिज्य बैङ्ककै सिइओ बन्न तम्सिएका छन्।गभर्नरमा कसैले नपत्याएपछि उनी फेरि जागिर खान बैङ्कका सञ्चालनको ढोका ढकढक्याउन थालेको भेटिएको छ।
आफ्नै नेतृत्वमा चलिरहेको बैङ्क डुबाएर एनबी बैङ्कलाई नविलमा विलीन बनाएका ढुङ्गाना अब एनआईसी एसिया बैङ्क छिर्ने र त्यहाँ रहेका लाखौँ लगानीकर्ताको लगानी डुबाउने योजनामा छन्। साथै एनआईसी एसिया बैङ्कका कर्मचारी हटाएर आफ्नो छुट्टै टिम खडा गर्ने प्रयासमा उनी लागेका छन्।
सोही अनुसार ढुङ्गानाले एनबीबी बैङ्कका तत्कालीन सिइओ, जो मर्ज पछि नबिल बैङ्कका डेपुटी छन् उनलाई फकाएर नबिल छोड्न र एनआईसी जान फकाई रहेको पाइएको छ। साथै उनले नबिल बैङ्कका अन्य कर्मचारीलाई समेत आफ्नो टिममा आउन भन्दै एक तह माथिको पद दिएर एनआईसी एसिया बैङ्कमा लैजाने आश्वासन दिँदै आएको भेटिएको छ।
नेपाल बङ्गलादेश बैङ्कले विगतमा राम्रो नाफा कमाउँदै ग्राहकहरूको विश्वास जितेको थियो। बैङ्कको सेवा र सञ्जाललाई लिएर सर्वसाधारणबिच समेत राम्रो छवि बनेको थियो। तर, ज्ञानेन्द्र ढुङ्गानाको कार्यकालमा बैङ्कको वित्तीय अवस्था लगातार खस्कँदै गएर अन्ततः २०८० सालमा नविल बैङ्कमा गाभिएर नामेट भएको थियो।
बैङ्क गाभ्ने निर्णयको पछाडि व्यवस्थापनको कमजोरी, जोखिम व्यवस्थापनमा लापरबाही, तथा नेतृत्वको असफलता मुख्य कारणका रूपमा औँल्याइएको थियो। त्यस बेलादेखि ढुङ्गानाले व्यक्तिगत स्वार्थका लागि बैङ्क डुबाउने र कर्मचारीको बिल्लिबाठ बनाउने एक खराब नेतृत्वका रूपमा परिचय बनाएका छन् ।
तर, अहिले तिनै व्यक्ति एनआईसी एसिया बैङ्कमा प्रवेश गर्ने रणनीतिमा लागेको खबरले बैङ्किङ क्षेत्रमै खैलाबैला मच्चिएको छ। स्रोतका अनुसार, ढुङ्गानाले उच्च तहमा लबिङ गर्दै प्रमुख कार्यकारी पदका लागि लबिङ थालेका छन्।
विवादित छवि बनाएका व्यक्ति पुनः एनआईसी एसिया जस्तो ठुलो पुँजी भएको वाणिज्य बैङ्कको नेतृत्वमा पुग्ने विषयलाई सामान्य रूपमा हेरिएको छैन। यस ग्राहकको विश्वास र समग्र बैङ्किङ प्रणालीमै नकारात्मक असर पर्न सक्ने विज्ञहरूको दाबी छ।
एनआईसी एसिया बैङ्क अहिले नेपालको अग्रणी वाणिज्य बैङ्कमध्येको एक मानिन्छ, जसले आक्रामक सेवा विस्तार र डिजिटल बैङ्किङमा उल्लेखनीय उपस्थिति बनाएको छ भने यस बैङ्कमा ३५ सय भन्दा बढी कर्मचारीहरू जोडिएका छन् । यथास्थितिमा ढुङ्गाना लगायतका टिम बैङ्क प्रवेश गर्ने विषयले बैङ्कमा हाल रहिआएको उच्च व्यवस्थापनदेखि लगानीकर्तामा समेत विवाद उत्पन्न हुने देखिएको छ। त्यसमाथि यसअघि नै खराब छवि बनाएका व्यक्ति एनआईसी एसिया बैङ्क प्रवेश गर्न लागेको विषयलाई सामान्य रूपमा हेरिएको छैन।
ढुङ्गाना एनबी बैङ्कका तत्कालीन कर्मचारीहरूको समूहसहित एनआईसी बैङ्क छिर्न लागेको विषयले उनको रवैयाप्रति जानकार कतिपय कर्मचारीहरू जागिर गुम्ने डरले त्रसित बनेका छन् भने केही कर्मचारीहरू उनको अन्डरमा बसेर रैती झैँ काम गर्न नसकिने भन्दै अन्यत्र काम खोज्न सुरु गरिसकेका छन्।
यस विषयमा ढुङ्गानाले भने एनआईसी एसिया बैङ्कमा सिइओ बनेर जाने विषय निराधार भएको बताउँदै आएका छन् ।































