प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री थप्ने तयारी
वि.सं.२०८२ कात्तिक ९ आइतवार
shares
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । नयाँ मन्त्रीका रूपमा चार जनाको नाम टुंगो लागेको छ ।
डा. सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री,
गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,
खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री, र
बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।
चारै जनाले आजै शपथ लिने तयारी गरिएको छ ।
डा. सुधा गौतम स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव हुन् र स्त्री तथा प्रसूति रोग विशेषज्ञ पनि हुन् । यसअघि स्वास्थ्य मन्त्रालयमा संगीता कौशल मिश्राको नाम चर्चामा थियो, तर उनीमाथि भ्रष्टाचार अनुसन्धान चलिरहेको थाहा पाएपछि प्रधानमन्त्री कार्कीले उनलाई सिफारिसबाट हटाएकी हुन् ।
गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी र बसन्तपुर दरबार क्षेत्रजस्ता ऐतिहासिक स्थलको संरक्षणमा योगदान पुर्याएका छन् । उनले आफ्नो अभियानबारे अक्सफोर्ड विश्वविद्यालयमा समेत प्रस्तुति दिएका थिए ।
खगेन्द्र सुनार दलित अधिकारका अभियन्ता हुन् । उनले दलित समुदायको समान अधिकारको माग गर्दै काठमाडौंमा नेल लगाएर प्रदर्शन गरेका थिए । रुकुमपश्चिममा नवराज विकसहित ६ जनाको हत्या भएपछि उनले त्यस घटनाको विरोधमा १० दिनसम्म जिल्ला अदालत अगाडि धर्ना दिएका थिए ।
बब्लु गुप्ता सामाजिक अभियन्ता हुन् । उनले कोभिड महामारीका बेला निःशुल्क खाना अभियान चलाएका थिए । त्यसअघि उनले विपन्न व्यक्तिहरूका लागि कपडा बैंक अभियान सुरु गरेका थिए । साथै, विद्यार्थीलाई पढाउने र बिरामीका लागि रगत खोजिदिने काममा पनि सक्रिय छन् ।
गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता अनलाइनखबरको “४० वर्ष मुनिका ४० प्रभावशाली युवाको सूची” मा पनि समावेश भएका थिए ।






























