मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनार दुई मुद्दामा फरार अभियुक्त
वि.सं.२०८२ कात्तिक ९ आइतवार
shares
काठमाडौं । अन्तरिम सरकारले मन्त्री बनाउन लागेको भनिएका खगेन्द्र सुनार दुईवटा मुद्दामा फरार अभियुक्त रहेको खुलेको छ । नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीमाथि काभ्रे र सुर्खेतका अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उनीमाथि विद्युतीय कारोबारसम्बन्धी मुद्दा दर्ता छ । यो मुद्दा अझै फर्स्यौट नभएको र उनी पक्राउ नपरेको प्रहरी रेकर्डमा उल्लेख छ ।
त्यस्तै, सुर्खेत जिल्ला अदालतले पनि २०८१ असार २१ गते उनलाई पक्राउ गर्न आदेश दिएको थियो । सो मुद्दा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र अस्पताल तोडफोडसँग सम्बन्धित छ । अदालतले पछि पनि सुर्खेत प्रहरीले किन उनलाई नपक्राउ गरेको भन्नेबारे ताकेता गरेको थियो ।
सुनारविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा चलिरहेको पाइएको छ । अधिवक्ता मनिषा गौतमले हालेको मानहानीसम्बन्धी मुद्दा गत वैशाख २१ मा दर्ता भएको हो । यो मुद्दामा असोज ६ गते पेसी तोकिए पनि सर्वोच्च अदालतमा आगलागी भएपछि स्थगित भएको थियो ।
गौतमका अनुसार, सुनारले अदालत परिसरमै हुलहुज्जत, तोडफोड र न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । त्यसपछि उनले सामाजिक सञ्जालमा पनि गौतमलाई गालीगलौज गर्दै अपमानजनक स्टाटस लेखेका थिए । उनले गौतमको तस्बिर र फोन नम्बरसमेत फेसबुकमा हालेर चारित्रिक लान्छना लगाएका थिए ।
‘तँ नेपाल बारकी होस् कि ठमेल बारकी?’ भन्ने स्टाटस लेखेपछि गौतमले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । तर ब्यूरोले मुद्दा नदर्ता गरी उनलाई काभ्रे जिल्ला अदालतमा जान सिफारिस गरेको थियो ।
यसरी फरार अभियुक्तका रूपमा रहेका सुनार अहिले मन्त्रिपरिषद् विस्तारमा मन्त्री बन्ने चर्चामा छन् ।


































