नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङको अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

49.1K
shares
Nabil bank

नयाँ दिल्ली ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको स्वच्छ र नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। उनले भारतको नयाँ दिल्लीमा आयोजना भएको एक अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा बोल्दै नेपाल अहिले हरित ऊर्जाको नयाँ युगतर्फ प्रवेश गर्ने ऐतिहासिक मोडमा पुगेको बताए।

मन्त्री घिसिङले जलविद्युत, सौर्य र पवन ऊर्जामा अपार सम्भावना भएको नेपालमा लगानीकर्तालाई आकर्षित गर्दै भने,“जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धका साथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ।म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु — नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस्।”

मन्त्री घिसिङका अनुसार नेपालको जलविद्युत उत्पादन केवल आन्तरिक विकासका लागि होइन, दक्षिण एशियाका अन्य देशहरूलाई पनि स्वच्छ र हरित ऊर्जा उपलब्ध गराउने दीर्घकालीन दृष्टिको हिस्सा हो।उनका अनुसार, सन् २०३५ सम्ममा नेपालले १५ हजार मेगावाट नविकरणीय ऊर्जा निर्यात गर्ने लक्ष्य लिएको छ।
यो लक्ष्य हासिल गर्नका लागि नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माण कार्य अघि बढाइरहेका छन्।

नेपालको ऊर्जा सम्भावनाबारे बोल्दै मन्त्री घिसिङले भने —“नेपालसँग झण्डै ८३ हजार मेगावाट जलविद्युत सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत क्षमता छ। यी स्रोतहरू स्वच्छ, नवीकरणीय र छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक छन्।”मन्त्री घिसिङले क्षेत्रीय र विश्वव्यापी रूपमा ग्रिड विकास हुँदै जाँदा अन्तरआवद्ध प्रसारण सञ्जालले नविकरणीय ऊर्जा प्रवाहलाई सहज बनाउने बताए।


उनका अनुसार, यस्तो सञ्जालले विद्युत आपूर्ति र मागबीच सन्तुलन कायम गर्न, लागत घटाउन र पहुँच विस्तार गर्न सहयोग गर्नेछ।यो दृष्टि ‘एक सूर्य, एक विश्व, एक ग्रिड’ अवधारणासँग पूर्ण रूपमा मेल खान्छ,” उनले भने,“जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ। यस दृष्टिलाई वास्तविकता बनाउन क्षेत्रीय देशहरूले एकीकृत विद्यु्त बजारतर्फ अघि बढ्नुपर्छ।”

नेपाल सरकारले हालका वर्षहरूमा हरित ऊर्जामा लगानी बढाउने, विद्युतीकरण विस्तार गर्ने र जीवाश्म इन्धनमा निर्भरता घटाउने नीति अवलम्बन गरेको छ।
मन्त्री घिसिङले यो यात्रालाई दिगो बनाउन नीतिगत सुधार, प्रविधिक सहकार्य र अन्तर्राष्ट्रिय लगानी अपरिहार्य भएको बताए।

उनले सम्मेलनमा सहभागी देशहरूलाई नेपालको नीति स्पष्ट गर्दै भने नेपाल ऊर्जाको निर्यातक देश बन्छ भन्ने हाम्रो लक्ष्य केवल सपना होइन, कार्ययोजनासहितको प्रतिबद्धता हो।

हामी मित्रराष्ट्रहरूसँग मिलेर क्षेत्रीय ऊर्जाको साझा बजार बनाउन तयार छौं।”

नेपालले हालसम्म भारतसँग दुईपक्षीय सम्झौतामार्फत विद्युत निर्यात गर्दै आएको छ।साथै बंगलादेशलाई पनि नेपाली जलविद्युत निर्यात गर्ने प्रक्रिया अघि बढाइएको छ।
नेपालको विद्युत प्राधिकरणका अनुसार, देशमा हाल उत्पादन क्षमताको द्रुत विस्तार भइरहेकाले आगामी पाँच वर्षभित्र ऊर्जा अधिशेष निर्यातयोग्य हुने अनुमान छ।

मन्त्री घिसिङको यो आह्वानलाई सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्।उनले नेपालको स्वच्छ ऊर्जामा लगानी गर्दा क्षेत्रीय ऊर्जा सुरक्षामा योगदान हुने र हरित विकासको साझा लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x