शनिबार बिहानसम्म देशभर वर्षा, उच्च हिमाली भेगमा भारी हिमपातको सम्भावना
वि.सं.२०८२ कात्तिक १३ बिहीवार
shares
काठमाडौँ । अरब सागरबाट उत्पन्न ‘मोन्था’ नामक चक्रवातको प्रभावले नेपालभर मौसमी गतिविधि तीव्र बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवातको कारण शुक्रबार रातिदेखि देशका धेरै भागमा वर्षा भइरहेको छ र शनिबार बिहानसम्म पनि देशका अधिकांश भू–भागमा वर्षा जारी रहनेछ ।
महाशाखाकी प्रवक्ता विभूति पोखरेलका अनुसार विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा, भने अन्य प्रदेशमा मध्यम खालको वर्षा हुने सम्भावना छ । उहाँका अनुसार, शनिबार बिहानपछि मात्र देशभर क्रमशः मौसममा सुधार आउने अपेक्षा गरिएको छ ।
प्रवक्ता पोखरेलले आगामी २४ घण्टासम्म काठमाडौँ उपत्यका र वरपरका क्षेत्रमा वर्षा जारी रहने बताउनुभयो । तर उहाँका अनुसार सबै स्थानमा निरन्तर वर्षा नहुने र बीच–बीचमा मौसम खुल्ने सम्भावना पनि छ ।
मौसम विज्ञान विभागले जारी गरेको विशेष सूचना अनुसार,
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगहरूमा भारी हिमपात हुने सम्भावना रहेको छ ।
यस्तै, हिमपातका कारण ती क्षेत्रमा चिसो बढ्ने, सडक यातायात प्रभावित हुने, हवाई उडानमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ ।
विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन, यात्राको योजना गर्दा मौसमको अद्यावधिक जानकारी लिन, र हिमाली क्षेत्रमा बसोबास गर्नेहरूलाई सम्भावित जोखिमबाट सचेत रहन आग्रह गरेको छ ।
महाशाखाको भनाई अनुसार:
“मोन्था चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहनेछ । त्यसपछि क्रमशः हावा पश्चिमबाट सर्दै जाँदा मौसममा सुधार आउने अपेक्षा छ । तर उच्च पहाडी र हिमाली क्षेत्रमा चिसो अझै केही दिन रहिरहनेछ,” प्रवक्ता पोखरेलले बताउनुभयो ।
यससँगै, राजधानी लगायत देशका धेरै भागमा अहिले आकाश धमिलो छ, हावा चलिरहेको छ र कतिपय ठाउँमा हल्का मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

































