जेनजी आन्दोलन: शक्ति, चुनौती र अलमल

25.3K
shares
Nabil bank

 

 

नेपालको राजनीतिक र सामाजिक इतिहासमा भाद्र २३-२४ को जन–आन्दोलन विशेष रूपमा सम्झिने छ। यो आन्दोलनले कुनै दल, वर्ग वा जातको प्रतिनिधित्व मात्र गरेन, यो देशका नयाँ पुस्ताको चेतना र असन्तोषको विस्फोट थियो। त्यसमा विशेष गरी Gen Z ( सन् १९९५ पछि जन्मेका, डिजिटल युगका सन्तान) अग्रपंक्तिमा उभिएका थिए। उनीहरू न त कुनै पार्टीको आदेशमा न त कुनै स्वार्थमा सडकमा उत्रिए, तर भ्रष्टाचार, असमानता र शासनमा पारदर्शिताको अभाव विरुद्ध स्वतःस्फूर्त रूपमा उठेका थिए। यो आन्दोलनले नेपालमा नयाँ राजनीतिक भाषाको सुरुवात गर्‍यो। पहिलेका आन्दोलनहरू नारामा सीमित हुन्थे। “लोकतन्त्र”, “संविधान”, “राजतन्त्र” वा “गणतन्त्र”। तर यो पुस्ताको आन्दोलनले प्रश्न गर्‍यो । “नेताहरू बदलिँदा पनि सोच किन नबदलियको ?”

 

Gen Z पुस्ता तर्कसंगत, तेज र प्रविधिसँग जोडिएको पुस्ता हो। उनीहरूका लागि सूचना र विचारमा सीमित छैनन खुला छन्। सामाजिक सञ्जालमार्फत यो पुस्ता सिङ्गो देशभरका समान विचार भएका युवालाई जोड्न सफल भय। टिकटक, इन्स्टाग्राम, फेसबुक र एक्स (ट्विटर) उनका “आन्दोलनका मैदान” बने। युवाहरूले भ्रष्टाचारका घटनाहरू, नेताहरूका बेइमानी र राज्यका कमजोरीहरू उजागर गरे। यो डिजिटल आन्दोलनले देखायो कि सत्ता अब केवल सडकमा होइन, स्क्रिनमा पनि जन्मन्छ। जहाँ नेताहरू प्रेस विज्ञप्ति लेख्दै थिए, त्यहाँ युवाहरूले भिडियो बनाएर देशका मुद्दा जनतासम्म पुर्‍याइरहेका थिए। सडक र स्क्रीनको संयुक्त शक्तिले यो आन्दोलनलाई अद्भुत ऊर्जा दियो। जुन पुरानो पुस्ताले कहिल्यै देखेन।

 

भ्रष्टाचारविरुद्धको आक्रोश दशकौँदेखि थियो, तर यसपटक युवाहरूले यो विषयलाई नारा होइन, अस्तित्वको प्रश्न बनाए। उनीहरूका लागि भ्रष्टाचार केवल नेताको गल्ती होइन, उनीहरूको भविष्यको चोरी थियो। जब सरकारले सामाजिक सञ्जालमा नियन्त्रणको संकेत दियो, तब युवाहरूले यो आफ्नो आवाजमाथि हमला ठाने। त्यसैले आन्दोलनले केवल राजनीतिक मुद्दा होइन, अभिव्यक्तिको स्वतन्त्रता र जीवनशैलीको अधिकार समेत समेट्यो। Gen Z पुस्ताले यो देखायो लोकतन्त्र केवल मतपत्र होइन, “मत व्यक्त गर्ने स्वतन्त्रता” पनि हो। तर हरेक शक्ति आफ्नो सीमासँगै आउँछ। Gen Z आन्दोलनमा अद्भुत ऊर्जा थियो, तर त्यति नै स्तरको संगठन र नेतृत्वको कमी पनि देखियो। कसैले आन्दोलनको स्थायी रणनीति बनायो छैन, कसैले दीर्घकालीन योजना तयार गरेन। त्यसैले जब सरकारको कडा प्रतिक्रिया आयो गिरफ्तार, नियन्त्रण, सूचनाको दमनको आन्दोलनले स्थायित्व गुमायो।

 

नेतृत्वको कमीले आन्दोलनको अनुशासन कमजोर बनायो। हरेक समूहले आफ्नो विचारलाई “मुख्य” ठान्यो, र एउटै दिशातर्फ नजाँदा अलमल फैलियो। केही ठाउँमा आन्दोलन कला र विरोधको मिश्रण बन्यो, जसले सन्देश भन्दा पनि प्रदर्शनलाई प्राथमिकता दियो। तर दोष केवल युवामा होइन। राज्य र पुराना दलहरूले पनि उनीहरूलाई “बबाल गर्ने बच्चा” सम्झिए, संवाद र सहकार्य गर्नुअघि दमन रोजे।

त्यो गलत थियो, किनकि आन्दोलनमा असन्तोष मात्र होइन, सम्भावना पनि लुकेको थियो।

 

Gen Z पुस्ताको एउटा मनोवैज्ञानिक विशेषता छ तात्काल परिणाम चाहने प्रवृत्ति। तिनीहरू डिजिटल युगका हुन् जहाँ क्लिक गर्दा तुरुन्तै प्रतिक्रिया आउँछ। तर राजनीति र प्रणालीमा परिवर्तन त्यति छिटो हुँदैन। यसैले धेरै युवाले आन्दोलनबाट तात्काल सुधारको अपेक्षा गरे भ्रष्टाचार अन्त्य, राजनीतिक सुधार, नयाँ नेतृत्व। तर केही हप्तामै जब ठूला परिणाम आएनन्, उनीहरूमा निराशा बढ्यो। तर यो निराशा पनि महत्त्वपूर्ण हो। किनकि निराशाले प्रश्न जन्माउँछ, र प्रश्नले चेतना जगाउँछ। Gen Z ले सीप सिक्यो सत्ता प्रश्न गर्न डराउनु पर्दैन। र राज्यले पनि सिक्यो युवाको आवाजलाई बेवास्ता गर्दा विस्फोट हुन्छ।

 

आन्दोलन र राज्यबीचको मुख्य समस्या संवादको कमी थियो। सरकारले आन्दोलनलाई “राजनीतिक षड्यन्त्र” ठान्यो, जबकि यो जन–भावनाको विस्फोट थियो। यदि सरकारले समयमै खुला वार्ता गरेको भए, अस्पताल, न्यायालय, शिक्षा र प्रशासनसँग सहकार्य खोजेको भए आन्दोलन सहकार्यमा रूपान्तरित हुन सक्थ्यो। तर उल्टो भयो सञ्चारमाध्यममा नियन्त्रण, युवाहरूलाई पक्राउ, र भित्री निगरानी। यसले दूरी अझ बढायो। राज्यले बुझेन कि “Gen Z लाई दबाएर होइन, विश्वास दिलाएर मात्र जित्न सकिन्छ।” विश्वास भनेको पारदर्शिता हो, जुन अहिले पनि सबैभन्दा दुर्लभ मूल्य बनेको छ।

 

हालका वर्षमा धेरै आन्दोलनहरू आए, तर Gen Z आन्दोलन फरक थियो। यसले राजनीति भन्दा बढी संस्कृति र सोचमा परिवर्तन ल्यायो। अभिव्यक्तिको स्वतन्त्रता, सचेत उपभोक्ता संस्कृति, डिजिटल नागरिकता यी सबै विचारहरू युवामार्फत विस्तार भए। यो आन्दोलनले जनतालाई सम्झायो कि “राजनीति नेताको मात्रै होइन, हरेक नागरिकको जिम्मेवारी पनि हो।” विद्यालयदेखि विश्वविद्यालयसम्म युवाले देशको अवस्था र समाधानबारे गम्भीर चर्चा गर्न थाले। यही नै आन्दोलनको ठूलो उपलब्धि हो सडकमा मात्र होइन, सोचमा परिवर्तन।

 

अब मुख्य प्रश्न उठ्छ, यो ऊर्जा कहाँ जाने? Gen Z आन्दोलनले चेतना जगायो, तर त्यसलाई दीर्घकालीन सुधारमा रूपान्तरण गर्न संस्था र नेतृत्व चाहिन्छ। स्वतन्त्र नागरिक मञ्च, पारदर्शी युवा संगठन, सामाजिक निगरानी समूहहरू, यस्ता पहलहरूले यो चेतनालाई स्थिर दिशामा लैजान सक्छ। युवाहरूले बुझ्नुपर्ने छ। विरोध मात्र होइन, निर्माण पनि आवश्यक छ। सडकमा कराउनु सजिलो छ, तर प्रणाली बनाउनु कठिन। तर जब विरोध र निर्माण सँगसँगै चले, त्यतिबेला मात्र देशले स्थायी सुधार देख्छ।

 

 

Gen Z आन्दोलन केवल असन्तोषको कथा होइन; यो देशमा नयाँ चेतनाको जन्म हो। हो, यो आन्दोलनमा संगठनको कमजोरी थियो, नेतृत्व अस्पष्ट थियो, रणनीति अलमलिएको थियो। तर इतिहासले यही देखाउँछ। हरेक ठूला परिवर्तन अलमलबाटै सुरु हुन्छ। फ्रान्सको क्रान्ति, भारतको स्वतन्त्रता आन्दोलन, वा अमेरिकाको नागरिक अधिकार आन्दोलन, सुरुवातमा सबैमा अलमल थियो, तर त्यही अलमलले चेतनालाई दिशा दियो।

 

नेपालको Gen Z आन्दोलन पनि त्यसै मार्गमा छ। यी युवाहरू अहिले निराश हुन सक्छन्, तर उनीहरू नै भविष्यका शिक्षक, इन्जिनियर, पत्रकार, र नीति निर्माता हुन्। यदि उनीहरूले यो आन्दोलनबाट संगठन, धैर्यता र इमानदारी सिके, त्यो दिन टाढा छैन जब देशले साँच्चिकै “नयाँ पुस्ताको गणतन्त्र” अनुभव गर्नेछ। त्यसैले, हिजो सडकमा नारा लगाउने ती युवाहरूलाई अब नेतृत्व सिक्ने समय आएको छ। किनभने साँचो परिवर्तन केवल विरोधले होइन, इमानदार निर्माणले हुन्छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x