नेतृत्वविरुद्ध बिष बमन गर्दै प्रभु बैंकका कर्मचारी : हुँदै नभएका अफवाह फैलाएर मिडिया ट्रायल
वि.सं.२०८२ कात्तिक २५ मंगलवार
shares
काठमाडौँ । प्रभु बैंक लिमिटेडका केही कर्मचारीहरू आफ्नै संस्थाको नेतृत्व र प्रतिष्ठाविरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेको खुलासा भएको छ। ती कर्मचारीहरूले बैंकका गोप्य सूचना, आन्तरिक पत्राचार र संवेदनशील फाइलहरू मिडियामा चुहाएर बैंक र प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलाई लक्षित गर्दै नकारात्मक धारणा बनाउन खोजेको पाइएको छ।
स्रोतका अनुसार, बैंकभित्रैका केही उच्च तहका कर्मचारीहरूले आफूहरूलाई सिईओ वा डेपुटी सिईओ बनाउने योजनासहित अशोक शेरचनको चरित्रहत्या अभियान चलाइरहेका छन्। उनीहरूले हालै केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैंकसँग केही कागजात मागेको सामान्य प्रक्रियालाई ‘सिआईबीको छापा’ र ‘सिईओ फरार’ भन्ने भ्रामक समाचार बनाएर केही मिडिया संस्थामा पठाएका छन्। त्यसमध्य बैँकको कमलादी साखामा कार्यरत एक कर्मचारी अझै बढी सकृय देखिन्छन्।
सिईओलाई विवादित देखाउने उद्देश्यले तयार पारिएका ती अफवाहहरू बैंकको स्थायित्व र विश्वसनीयतामाथि नै प्रश्न उठाउने गरी प्रचार गरिएको प्रभु बैंक नजिकैका स्रोतले जनाएका छन्। ‘केही कर्मचारीहरू बैंकप्रति निष्ठा नभई स्वार्थमा केन्द्रित छन्। उनीहरूले बैंकका नाममा मिडिया ट्रायलको खेल खेलिरहेका छन्,’ स्रोतले भन्यो।
सिईओ अशोक शेरचन बैंकभित्र शृङ्खलाबद्ध सुधार र पारदर्शिताको अभ्यासमा लागेको बताइन्छ। तर सुधार प्रक्रियाले असन्तुष्ट भएका केही समूहहरूले नेतृत्वविरुद्ध नकारात्मक वातावरण सिर्जना गर्न खोजेको आरोप छ। ती समूहहरू बैंकको आन्तरिक प्रशासनिक निर्णय, सिईओको कार्यशैली र शाखा पुनर्संरचनाजस्ता विषयलाई गलत ढङ्गले प्रचार गर्दै आएका छन्।
मिडियामा फैलाइएका केही समाचारहरूमा तथ्यगत आधार नहुँदा बैंकको साखमा अनावश्यक आघात पुगेको बताइन्छ। प्रभु बैंकले भने यस्ता भ्रामक प्रचारमा नलाग्न आग्रह गर्दै नियामक निकाय, ग्राहक र लगानीकर्तालाई बैंक पूर्ण रूपमा सुरक्षित र सुदृढ रहेको स्पष्ट पारेको छ।
बैंक स्रोतका अनुसार, सिईओ अशोक शेरचन हाल पनि आफ्नो नियमित जिम्मेवारीमा कार्यरत छन् र कुनै पनि अनुसन्धान निकायले बैंकमा छापा मारेको छैन। सिआईबीले मागेका फाइलहरू नियामक प्रक्रियाअन्तर्गत नियमित विवरण हो, जुन सबै वाणिज्य बैंकका लागि सामान्य अभ्यास हो।
यसबीच, बैंकका सञ्चालक समितिले आन्तरिक अनुसन्धान समिति गठन गरी मिडियामा सूचना चुहाउने कर्मचारीहरूको पहिचान सुरु गरेको जनाएको छ। बैंकका एक सञ्चालकका अनुसार, “संस्थाभित्रैबाट गोप्य सूचना चुहाउनेहरूलाई कारबाहीको दायरामा ल्याइनेछ।”
वित्तीय बजारका विश्लेषकहरूले प्रभु बैंकभित्रको आन्तरिक असन्तुष्टिलाई व्यक्तिगत स्वार्थले प्रेरित राजनीतिकरणको रूपमा लिएका छन्। उनीहरूका अनुसार, यस्ता गतिविधिले बैंकिङ क्षेत्रमा नकारात्मक सन्देश पठाउँछ र ग्राहकको विश्वासमा ह्रास ल्याउँछ।
अहिले प्रभु बैंकमा चलिरहेको यो ‘अफवाह युद्ध’ संस्थागत शुचिता, गोपनीयता र अनुशासनबारे गम्भीर प्रश्न उठाउने घटनाको रूपमा हेरिएको छ। बैंकभित्रको असन्तुष्टि र प्रतिस्पर्धी आकांक्षा कहाँसम्म पुग्छ भन्ने विषयले अब नियामक निकायको ध्यान पनि तान्न थालेको छ।





























