गौरीफन्टा नाकाबाट ५२ तोला सुन र एक किलो चाँदीसहित चार नेपाली पक्राउ
वि.सं.२०८२ कात्तिक २५ मंगलवार
shares
कञ्चनपुर ।भारत–नेपाल सीमा नजिक रहेको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र करिब एक किलो चाँदीसहित चार जना नेपाली नागरिकलाई भारत प्रहरीले प’क्राउ गरेको छ।
महाराष्ट्र राज्यको क्राइम ब्रान्चबाट खटिएको विशेष प्रहरी टोलीले बिओपी (बोर्डर आउट पोस्ट) गौरीफन्टा चेकपोस्टमा तैनाथ भारतीय सुरक्षाकर्मीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये —दीपक नरसिंह (२५ वर्ष),भुवनसिंह चलाउने (३७ वर्ष),जीवनकुमार थारु (४७ वर्ष) रखेमराज कुलपति देवकोटा (५६ वर्ष) रहेका छन्।
उनीहरूको नेपाली ठेगाना भने सार्वजनिक गरिएको छैन।भारतको महाराष्ट्र क्राइम ब्रान्चले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ परेकासँग ६१६.९ ग्राम (५२.९० तोला) सुन र ७८०.८ ग्राम चाँदी बरामद गरिएको छ।
प्राथमिक अनुसन्धान अनुसार उनीहरूले उक्त सुन र चाँदी महाराष्ट्र राज्यको विभिन्न ठाउँबाट चोरी गरी नेपाल तर्फ लैजाने प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ।
उनीहरूलाई थप अनुसन्धानका लागि भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा पठाइएको बताइएको छ, जहाँ गौरीफन्टा प्रहरीले पनि प्रारम्भिक बयान लिइरहेको छ।
सुन–चाँदी कहाँबाट चोरी भएको हो भन्नेबारे भारतीय प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। साथै सीमा क्षेत्रमा सुन–चाँदी तस्करी नियन्त्रण गर्न निगरानी कडा बनाइने भारतीय अधिकारीहरूले बताएका छन्।यस घटनाले पुनः एकपटक भारत–नेपाल सीमाबाट हुने सुन तथा चाँदी तस्करीबारे गम्भीर प्रश्न उठाएको छ। नेपाल र भारत दुबै देशका सीमा सुरक्षा निकायबीच यस विषयमा समन्वय बढाउने तयारी भइरहेको बताइएको छ।

































