शिक्षिकामाथि नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोप, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

945
shares
national life insurances
Nabil bank

काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्ति लिएर सरकारी लाभ लिएको आरोपमा एक शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार झापा जिल्ला, दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षिका देवी निरौलाले भारतबाट फर्जी शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सोही विद्यालयमा प्राथमिक तहमा अध्यापन गर्दै आएकी थिइन्।

उनले भारतको मथुरा स्थित संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको प्रमाणपत्र झुटो रूपमा प्रयोग गरी नियुक्ति लिएकी थिइन्। सो नक्कली प्रमाणपत्रका आधारमा उनले नेपालमा शिक्षकको रूपमा करिब दुई दशकदेखि सेवा गर्दै आएकी बताइएको छ।

अख्तियारका अनुसार निरौलाले आफ्नो नियुक्तिका लागि पेश गरेको प्रमाणपत्रको सत्यता जाँच गर्दा उक्त प्रमाणपत्र नक्कली रहेको खुलेको हो। उनले सो प्रमाणपत्रमार्फत गलत सूचना दिएर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कुसुर (अपराध) गरेको ठहर भएको छ।

अख्तियारले उनलाई सार्वजनिक सेवाबाट अनधिकृत लाभ उठाएको, नक्कली प्रमाणपत्रमार्फत पद प्राप्त गरी सरकारी सुविधा लिएकोकागजात दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ।

मुद्दामा निरौलालाई दफा १६ को उपदफा (१) र सोही ऐनको दफा १९ को उपदफा (१) अनुसार कैद र जरिवानाको सजाय माग गरिएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार देवी निरौलामाथि नक्कली प्रमाणपत्र पेश गरी शिक्षक नियुक्ति लिएको र लामो समयदेखि सोही पदमा कार्यरत रहँदा राज्यबाट तलब–भत्ता लगायतका आर्थिक सुविधा लिएको प्रमाण भेटिएकोले मुद्दा दायर गरिएको हो।

अख्तियारले सरकारी सेवा, शिक्षा र नियुक्ति प्रक्रियामा नक्कली प्रमाणपत्र प्रयोग गर्नेहरूमाथि कारबाही जारी राख्ने पनि जनाएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited