सरकारले क्यासिनोलाइ जारी गर्यो १२ बुँदे कडा निर्देशिका
वि.सं.२०८२ मंसिर ३ बुधवार
shares
काठमाडौं । सरकारले व्यावसायिक मनोरञ्जनका रुपमा सञ्चालनमा रहेका क्यासिनोलाई अझै बढी कानूनी दायरामा ल्याउन १२ बुँदे कडा निर्देशन जारी गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले जारी गरेको निर्देशनमा सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा आतंकवादी गतिविधिमा आर्थिक लगानी रोकथामसम्बन्धी सबै नियम कडाइका साथ पालना गर्न क्यासिनो व्यवसायीलाई आदेश दिएको छ।
विभागले विदेशी मुद्रा कारोबारसम्बन्धी नियम स्पष्ट गर्दै नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई विदेशी मुद्रा साटासाट वा कारोबार नगर्न चेतावनी दिएको छ। क्यासिनो नियमावली–२०८२ र सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशनअनुसार आवश्यक विवरण नियमितरुपमा विभागमा बुझाउनुपर्ने छ।
क्यासिनो खेलाडीको ग्राहक पहिचान (KYC) तथा बायोमेट्रिक विवरण तोकिएको मापदण्डअनुसार अद्यावधिक गर्नुपर्ने, क्यासिनोभित्रका सबै गतिविधि सिसिटिभीमा रेकर्ड गरी कम्तीमा ६ महिना सुरक्षित राख्नुपर्ने व्यवस्था पनि निर्देशनमा छ।
तेस्रो पक्षसँग सम्झौता गरेर क्यासिनो सञ्चालन गर्न नपाइने, र इजाजत लिएको स्थान बाहेक अन्यत्र सञ्चालनमा पूर्ण प्रतिबन्ध लागू हुने उल्लेख गरिएको छ।
खेलाडीले जितेको रकम भुक्तानी गर्नुअघि आकस्मिक लाभकर (windfall tax) अग्रिम कट्टी गर्नुपर्नेछ। कर कट्टीको प्रमाणपत्र खेलाडीलाई दिई सोको विवरण तुरुन्त आन्तरिक राजस्व कार्यालय र पर्यटन विभाग दुबैलाई पठाउनुपर्नेछ।
अनलाइन वा इन्टरनेटमार्फत जुवातास खेलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। क्यासिनो तथा होटल परिसर भित्रबाहिर सुरक्षा व्यवस्थित राख्नुपर्ने पनि निर्देशनमा जोड दिइएको छ।
नेपाललाई ग्रे लिस्टबाट हटाउन आवश्यक सुधारात्मक कार्ययोजना कार्यान्वयनमा कडाइ गरिने र निरीक्षणका क्रममा कमजोरी फेला परे तत्काल कानूनअनुसार कारबाही हुने पर्यटन विभागले जनाएको छ।
































