उल्टो बाटोमा सानिमा बैँक, डिजिटल युगमै ‘डिजिटल बैंकिङ’ सेवाबाट ग्राहक बन्चित
वि.सं.२०८२ मंसिर ११ बिहीवार
shares
काठमाडौं । डिजिटल रूपान्तरणलाई मूल मन्त्रजस्तै अपनाइरहेका नेपाली बैंकिङ क्षेत्रमा सानिमा बैंकले इन्टरनेट बैंकिङ सेवा नै बन्द गर्ने निर्णय गरेपछि व्यापक आलोचना सुरु भएको छ। ग्राहक आकांक्षा र आधुनिक बैंकिङ प्रवाहसँगै चलिरहेको प्रतिस्पर्धी बजारमा उल्टो दिशा लिएको बैंकको कदमले यसको सेवा गुणवत्ता, व्यवस्थापन क्षमता र दीर्घकालीन रणनीतिमाथि गम्भीर प्रश्न उठाएको छ।
बैंकले आगामी आइतबार (मंसिर १४)देखि इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय सार्वजनिक गरेसँगै हजारौँ ग्राहक एकाएक प्रभावित बन्न पुगेका छन्। वित्तीय कारोबार, बिल भुक्तानी, रकम स्थानान्तरणदेखि दैनिक बैंकिङ आवश्यकता पूरा गर्ने मूल माध्यम नै बन्द भएपछि ग्राहकलाई वैकल्पिक उपायको खोजी गर्न कठिनाइ परेको छ। बैंकले असुविधाका लागि क्षमायाचनासमेत विज्ञप्तिमार्फत् गरेको छ, तर यसको कारण, विकल्प वा समाधानबारे भने स्पष्ट जानकारी नदिँदा ग्राहक झनै आक्रोशित बनेका छन्।
डिजिटल बैंकिङमा लगानी बढाउँदै आएका अधिकांश बैंकले सेवा विस्तार गरिरहेका बेला सानिमा बैंकले उल्टै डिजिटल सेवामै ताला झुण्ड्याउनु व्यवस्थापनको कमजोरी, प्रविधिगत कमजोरी वा आन्तरिक विवादको संकेतसमेत हुन सक्ने विश्लेषकहरुको टिप्पणी छ। त्रुटि पहिचान गरी सुधार गर्ने बजाय सेवा नै रोक्ने निर्णयले बैंकको भविष्यदृष्टि र जोखिम व्यवस्थापन क्षमतामाथि प्रश्नचिह्न खडा गरेको छ।
सानिमा बैंकका ग्राहकले सामाजिक सञ्जालमार्फत बैंकप्रति असन्तुष्टि जनाउँदै सेवा बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। बैंकको डिजिटल पहुँच कमजोर हुँदा बजारमा यसको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने चेतावनीसमेत विज्ञहरूले दिएका छन्। नियामक निकायले समेत यस विषयमा चासो लिनुपर्ने आवाज उठ्न थालेको छ।
ग्राहकलाई अन्य बैंकले दिन सक्ने सहज डिजिटल सुविधाबाट वञ्चित बनाउने यो निर्णयले सानिमा बैंकको विश्वसनीयता कमजोर बनाउँदै बजारमा नकारात्मक सन्देश पठाएको छ। यो निर्णयसँगै डिजिटल युगमा डिजिटल बैंकिङ सेवा बन्द गर्ने सानिमा बैंकले ग्राहकको विश्वास गुमाएको छ।

































