एनपीएलमा जनकपुर बोल्ट्सको लगातार तेस्रो हार, पोखरा एभेन्जर्सको पहिलो जित
वि.सं.२०८२ मंसिर ११ बिहीवार
shares
काठमाडौं । दक्षिण अफ्रिकाका फास्ट बलर वेन पार्नेलको अर्धशतकका बाबजुत साविक विजेता जनकपुर बोल्ट्सले जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो हार व्यहोरेको छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा जनकपुर पोखरा एभेञ्जर्ससँग २५ रनले स्तब्ध भएको हो । प्रतियोगितामा जनकपुर जितविहीन छ। पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले पराजित भएको थियो।
यता पोखराले भने पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको पोखरा दोस्रो खेलमा सुदूपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो। हाल सुदूरपश्चिमले चार खेलमा अपराजित यात्रा कायम राख्दै ८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ।आज पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर निर्धारित २० ओभरमा विकेट गुमाएर १३० रन मात्रै जोड्न सक्यो ।
जनकपुरको इनिङ्समा प्रारम्भिक ब्याट्सम्यानहरु असफल हुँदा आठाैं नंबरमा आएका वेन पार्नेलले शानदार प्रदर्शन गरे। पार्नेल नै सर्वाधिक सफल ब्याट्सम्यान बने । उनले ३८ बलको सामना गर्दै २ चौका र ४ छक्का प्रहार गरी ५० रन बनाएर ‘रिटायर्ड आउट’ भए ।पार्नेलबाहेक सञ्जय कृष्णमूर्तिले २५ रनको योगदान दिए भने माज सदाकतले छोटो तर आक्रामक रूपमा १४ बलमा २० रन बनाएका थिए । तर, टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो साझेदारी गर्न सकेन ।
पोखराका बलर बिपिन खत्री जनकपुरको इनिङ्स ध्वस्त पार्न सफल भए । उनले उत्कृष्ट इकोनोमीका साथ ४ ओभरमा मात्र १५ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनको किफायती बलिङ नै जनकपुरलाई ठूलो स्कोर बनाउनबाट रोक्नमा निर्णायक रह्यो ।सुमित वर्माले पनि २ विकेट लिएर खत्रीलाई राम्रो साथ दिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएकाे थियाे । पोखराको इनिङ्समा सुमित वर्माले सर्वाधिक ५० रनकाे अर्धशतकीय इनिङ खेले । उनले मात्र २९ बलको सामना गर्दै २ चौका र ४ छक्का प्रहार गरेर आफ्नो अर्धशतकीय पारी खेले। यस्तै, दीनेश खरेलले ३८ रन र त्रित राज दासले २९ रनको योगदान दिएका थिए।
जनकपुर बोल्ट्सका बलरहरूमध्ये सञ्जय कृष्णमूर्ति सबैभन्दा सफल रहे । उनले किफायती बलिङ गर्दै आफ्नो ४ ओभरको स्पेलमा २१ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। अनिल साह र ललित राजवंशीले १-१ विकेट हात पारे तर सस्तैमा समेट्न नसक्दा हार व्यहाेर्न बाध्य बने ।
































