एमाले महाधिवेशन प्रतिनिधि चयन बहिस्कार, असन्तुष्ट समूहद्वारा तोडफोड
वि.सं.२०८२ मंसिर १३ शनिवार
shares
काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया धनकुटामा तनावपूर्ण बनेको छ। प्रतिनिधि छनोटमा एकलौटी भएको आरोप लगाउँदै एक समूहले निर्वाचन बहिस्कार गरेको छ भने केही बुथमा तोडफोडसमेत भएको छ।
धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्ष गरी दुई समूहबीच लामो समयदेखि प्रतिस्पर्धा रहँदै आएको छ। इन्द्रमणी समूहले मतदातालाई जानकारी नै नदिई राई पक्षले एकलौटी ढंगले मतदान गराएको आरोप लगाएको छ।
इन्द्रमणी पराजुलीले भने, “पार्टी कार्यालयमा फर्जी मत खसालिएको भेटिएपछि विरोधस्वरूप मतपेटिका फालिएको हो। हामीले कार्यालयमा तालाबन्दी पनि गरेका छौँ।”
उता, धनकुटामा हिजो साँझ दुवै पक्षबीच ९/४ को सहमति भएको दाबी गरिएको छ। सहमति अनुसार राई पक्षबाट ९ र पराजुली पक्षबाट ४ प्रतिनिधि चयन गर्ने सम्झौता भएको थियो। उक्त सहमतिअनुसार ४ जना बाहेकका मनोनयन फिर्ता लिएपछि आज बिहानबाट निर्वाचन प्रक्रिया सुरु भएको पराजुली समूहको दाबी छ।
तर राजेन्द्र राईले भने सर्वसम्मत सहमति नजुटेकाले निर्वाचन विधि अनुसार प्रक्रिया अघि बढेको बताउँदै, पराजुली पक्षले पराजय निश्चित भएपछि अराजकता फैलाउने काम गरेको आरोप लगाए।
एमालेले सर्वसम्मत नभएका ठाउँमा आज देशभर महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गरिरहेको छ भने धनकुटाको विवादले भने आन्तरिक रस्साकस्सालाई सार्वजनिक रूपमा उजागर गरेको छ।




























