सिंगटी हाईड्रोको मुख्य लगानीमा निर्माण हुने ६१.११ मेगावाटको नार खोला जलविद्युत आयोजनामा पाँच बैंकको संयुक्त लगानी

1.1K
shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाइमा पाँच बैंकले मनाङमा बन्ने ६१.११ मेगावाट क्षमताको नार खोला जलविद्युत आयोजनामा संयुक्त रुपमा ऋण लगानी गर्ने भएका छन्। सोमबार आयोजित कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै लगानी प्रक्रिया टुंग्याएका हुन्।

मनाङको नार्पा भूमि र नासोँ गाउँपालिका क्षेत्रलाई समेटेर नार खोला र सोती खोलाको पानी एकीकृत गरी निर्माण गर्न लागिएको उक्त आयोजना सिंगटी हाईड्रो इनर्जी लिमिटेडको मुख्य लगानीमा अघि बढ्नेछ। कम्पनीका अनुसार आयोजना निर्माणका आवश्यक सबै प्रक्रिया पूरा भइसकेका छन्। नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (PPA) यसअघि नै सम्पन्न भइसकेको छ।

कुमारी बैंकको नेतृत्व तथा नेपाल एसबिआई बैंकको सह–अगुवाइमा कृषि विकास बैंक, एनआईसी एशिया बैंक र मुक्तिनाथ विकास बैंक सहभागी सदस्य बैंकका रूपमा रहनेछन्। सोमबारै सम्पन्न हस्ताक्षरपछि आयोजनाको वित्तीय व्यवस्थापन सुनिश्चित भएको छ।

आयोजनाको प्रमुख प्राविधिक विवरणः

  • ग्रेस हेड: ५८८.८२ मिटर

  • वार्षिक विद्युत उत्पादन: ३६६.४८ गिगावाट

  • हेडरेस टनेल: करिब ८ किलोमिटर

  • बाँध तथा हेडवर्क: नार्पा भूमि गाउँपालिका

  • विद्युत गृह: नासोँ गाउँपालिका

  • ग्रिड कनेक्शन: मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेशन

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहनेछ।जसअन्तर्गत बैंकहरुको कर्जा ९ अर्ब ६३ करोड र स्व–पूँजी ३ अर्ब २१ करोड रहने कम्पनीले जनाएको छ। स्व–पूँजीमध्ये सिंगटी हाईड्रो इनर्जी लिमिटेडको प्रमुख लगानी हुनेछ।

civil hospital
Hams Hospitals