यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)
वि.सं.२०८२ मंसिर १६ मंगलवार
shares
काठमाडौं। सरकारले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी संरचनामा भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण योजना तयार गर्ने समितिको कार्यविधि ३० दिनका लागि थप गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले भदौ २३–२४ का घटनाको क्षति मूल्याङ्कन अझ पूर्ण बनाउन समय थपिएको जानकारी दिए।
सरकारले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालन समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ भने दीपक श्रेष्ठलाई लुम्बिनी विकास परिषद्को सदस्य–सचिवमा मनोनीत गरेको छ।
त्यसैगरी बैठकले प्रधानन्यायाधीशदेखि जिल्ला अदालतका न्यायाधीशसम्मका पारिश्रमिक र सुविधासम्बन्धी ऐनका अनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको छ।
नेपाली सेनाका तीन सहायक रथीको पदावधि थप गरिएको छ भने एक महासेनानीको राजीनामा स्वीकृत गरिएको छ।
यसअघि वडा नं. ३ भलाद्मीडाँडामा रहेको नुवाकोटको लिखु गाउँपालिकाको केन्द्रलाई सरेर अब वडा नं. ४ गड्खारमा कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।



































