सीमा प्रहरीको गस्तीमा प्रश्न: काजु तस्करी लगातार बढ्दै
वि.सं.२०८२ मंसिर १६ मंगलवार
shares
जनकपुरधाम। भारतबाट अबैध रूपमा भन्सार छली नेपाल ल्याइएको ठूला मात्रामा काजु (काजु–नट) सशस्त्र प्रहरीले धनुषामा बरामद गरेको छ। धनुषा जिल्लाको नगराइन नगरपालिका–२, जटहीस्थित खेतबारीमा लुकाएर राखिएको अवस्थामा १३ लाख ७० हजार रुपैयाँ बराबरको १ हजार ३ सय ७० किलोग्राम काजु फेला परेको हो।
सशस्त्र प्रहरी नं. ८ गण धनुषाले सोमबार प्राप्त विशेष गोप्य सूचनाका आधारमा सीमावर्ती क्षेत्रमा निगरानी बढाउँदै अपरेसन सञ्चालन गरेको थियो। सोही क्रममा खेतभित्र प्लास्टिकका बोरा भित्र लुकाइछिपाई राखिएको ठूलो मात्रामा काजु भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काजु भारततर्फबाट नियमित भन्सार प्रक्रियाबिना चोरीपैठारीमार्फत नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको सशस्त्र प्रहरी स्रोतको भनाइ छ।
बरामद गरिएको १३७० केजी काजु आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ। भन्सार कार्यालयले अब यसमा राजश्व छली, अवैध आयात तथा अन्य आर्थिक अपराधसम्बन्धी अनुसन्धान अघि बढाउने जनाएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा बनायो
धनुषा–सिरहा–सप्तरी क्षेत्रमा पछिल्ला महिनाहरूमा काजु, सुपारी, कपडा तथा उपभोग्य सामग्रीको चोरीपैठारी बढेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती, सूचनाको प्रयोग र आकस्मिक अपरेसनलाई थप प्रभावकारी बनाएको बताउँदै आएको छ।
































