सिटिजन्स बैंकले बैंक अफ दि इयर अवार्ड किनेको चर्को आरोप,बैंकको प्रचार–प्रसारमाथि छानबिन माग
वि.सं.२०८२ मंसिर १८ बिहीवार
shares
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेलायतको फाइनान्सियल टाइम्स समूहअन्तर्गतको दि बैंकर पत्रिकाबाट ‘बैंक अफ दि इयर–२०२५’ उपाधि प्राप्त गरेको छ। सन् २००० देखि यो अवार्ड वितरण गर्दै आएको पत्रिकाले सिटिजन्स बैंकलाई यस वर्ष नेपालतर्फको विजेता घोषणा गरेको हो।
उपाधि प्राप्तिका क्रममा बैंकका सिईओ गणेशराज पोखरेलले सञ्चालक, कर्मचारी, सेयरधनी तथा सेवाग्राहीहरूको योगदानका कारण अन्तर्राष्ट्रिय सम्मान हात परेको बताए।
तर, उक्त अवार्डको विश्वसनीयता र पारदर्शिताबारे अर्थतन्त्रका विश्लेषकहरूले प्रश्न उठाइरहेका छन्। फाइनान्सियल टाइम्स समूहअन्तर्गतको निजी पत्रिकाले वितरण गर्ने अवार्डका लागि सहभागी बैंकले विभिन्न शुल्क बुझाउनुपर्ने प्रचलनले यो अवार्ड “पे–टु–ज्वाइन” मोडेलको भएको आरोप लामो समयदेखि उठ्दै आएको छ।
यही कारण सिटिजन्स बैंकले नेपालमा यस अवार्डलाई “बेलायत सरकारले प्रदान गरेको उपाधि” जस्तै शैलीमा गरिरहेको प्रचारप्रसार भ्रामक रहेको टिप्पणीहरू सार्वजनिक भएका छन्। अवार्ड बेलायत सरकार वा कुनै आधिकारिक नियामक संस्थाले होइन, निजी प्रकाशन गृहले वितरण गर्ने मानिएको छ।
अर्थतन्त्र दबाबमा रहेको, बैंकिङ क्षेत्र तरलता तथा लाभांश समस्याबाट जुझिरहेको अवस्थामा—विदेशी पत्रिकाबाट शुल्क बुझाएर अवार्ड ल्याउने प्रवृत्तिमाथि पनि आलोचना भइरहेको छ।
सिटिजन्स बैंकले अवार्डसम्बन्धी विस्तृत प्रक्रिया, शुल्क संरचना र मूल्यांकनका आधारहरू भने सार्वजनिक गरेको छैन।
































