हाकिम सरुवा दैनिकी भयो: मेयर गुरुङको मन्त्रालयलाई कडा चिठ्ठी
वि.सं.२०८२ मंसिर २२ सोमवार
shares
धनकुटा। पाख्रीबास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (CAO)को लगातार हुने सरुवाले प्रशासनिक कामकाज प्रभावित भएपछि नगर प्रमुखले कडा असन्तुष्टि जनाएका छन्।
नगर प्रमुख ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै “सम्भव भए दिनदिनै वा महिनैपिच्छे छुट्टाछुट्टै प्रमुख प्रशासकीय अधिकृत पठाए पनि फरक नपर्ने” भन्दै व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन्।
मन्त्रालयले मंसिर १७ गते १०१७ र १०२७ नम्बरको चलानीमार्फत CAO सरुवाबारे राय मागेपछि मेयर गुरुङले पठाएको पत्रमा पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक गतिविधि अवरुद्ध भए पनि स्थानीय क्षेत्रमा धान, बाली, दूध उत्पादन, सिंचाइ, फलफूललगायतका सामान्य काममा कुनै समस्या नपरेको उल्लेख गरेका छन्।
नगर उपप्रमुख नम्रता गौतमका अनुसार मन्त्रालयले अत्यधिक छिटो–छिटो सरुवा गर्दा समयमै नयाँ अधिकारी नगरपालिकामा नआइपुग्ने र यसले नगरको कामकारबाही लगातार प्रभावित बनाइरहेको छ।
उनले भनिन्, “मन्त्रालयले हाकिम सरुवा गरिरहेकाले मेयर साबको असन्तुष्टि स्वाभाविक हो। समयमै अधिकृत नआउँदा कामअघि बढ्न सकेको छैन।”
प्रमुख प्रशासकीय अधिकृत लगातार परिवर्तन हुँदा,कागजी प्रक्रिया ढिलाइ हुने,बजेट र योजना कार्यान्वयन प्रभावित हुने,नगरका निर्णय प्रक्रियामा अवरोध आउने,नागरिक सेवामा ढिलाइ बढ्नेजस्ता समस्या देखिँदै आएको पाख्रीबास नगरपालिकाको भनाइ छ।
मेयरले पठाएको पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र नगर कार्यपालिकालाई समेत पठाइएको छ, जसले विषयलाई थप गम्भीर बनाएको छ।स्थानीय तहहरूमाकर्मचारी व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न केन्द्र सरकारले दीर्घकालीन नीति आवश्यक रहेको टिप्पणी स्थानीय तहका जनप्रतिनिधिहरूले गरेका छन्।































