अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की: काभ्रेका प्रकाश पाठकको देशव्यापी ‘हंट’ सुरु
वि.सं.२०८२ मंसिर २२ सोमवार
shares
काठमाडौं। प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनाको ज्यान लिने धम्की दिएका काभ्रेका प्रकाश पाठकलाई व्यापक ढंगले खोजिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अख्तियारकै प्रहरी युनिटले पाठकको खोजी गरिरहेका हुन् ।
आफूसँग भारतीय राहदानी रहेको बताउने पाठक अहिले भारतमै लुकेर बसेको आशंका प्रहरीको छ । विगतमा दिनेश अधिकारी ‘चरी’ (हाल दिवंगत)सँग लागेर गुण्डागर्दी गर्ने पाठकविरुद्ध सरोज थापा (रोज राणा)लाई खुकुरी प्रहार गरेको आरोप छ । सरोज हाल लुम्बिनी प्रदेश सरकारको शहरी विकास तथा खानेपानी मन्त्री छन् । पक्राउ पर्नेमा धादिङका शरणजंग शाही, बर्दियाका धीरेन्द्र सुनार र सर्लाहीका तोरण थापा छन् । तीनैजनालाई काठमाडौं परिसरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । आपराधिक पृष्ठभूमिका पाठकले इमेलमार्फत अख्तियारका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की दुईपटक दिएका थिए ।
राईलाई ‘भ्रष्टाचारको नाइके’को संज्ञा दिँदै पाठकले पदबाट राजीनामा नदिए १० दिनभित्र ज्यान लिने धम्की दिएको आइतबार १० दिन पुग्दैछ । पाठकले नेपाल आयल निगमका पूर्व प्रमुख गोपाल खड्का, नागरिक बचाउ अभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक, अर्का पूर्व गृहमन्त्री बालकृष्ण खाँण, अख्तियारकै पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की लगायत १० जनाको ज्यान लिने धम्की दिएका थिए ।
राईविरुद्ध पाठकले तीनवटा आरोप लगाएका छन् । वाइडबडीमा भ्रष्टाचार गरेको, नेपाल आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गरेको र नक्कली भुटानी शरणार्थी प्रकरणमा घुस लिएको आरोप पाठकको आरोप छ ।
लेखकविरुद्ध जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको, खाँणविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा घुस लिएको, प्रसाईंविरुद्ध नेपालमा अस्थिरता मच्चाउन भूमिका खेलेको र मेडिकल माफिया बनेको आरोप पाठकले लगाएका छन् ।
खड्काविरुद्ध आयल निगममा रहँदा भ्रष्टाचार गरेको र लोकमानसिंह कार्कीविरुद्ध कानून हातमा लिएर ठूला परियोजनालाई धम्क्याई रकम असुली गरेको पाठकको आरोप छ ।
कार्कीले पदमा बस्दा ठूला माछालाई उन्मुक्ति दिएको आरोप पनि पाठकले लगाएका छन् ।































