एमाले महाधिवेशन : प्रतिनिधि अद्यावधिक अन्तिम चरणमा, २,२६२ सदस्यको सूची टुंगियो

1.9K
shares
Nabil bank

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिकको काम अन्तिम चरणमा प्रवेश गरेको संगठन विभागले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टोली प्रतिनिधिहरुको विवरण भेरिफिकेसन तथा अन्तिम अद्यावधिकमा निरन्तर लागिरहेका छन्।

 

संगठन विभागका प्रमुख अधिकारीका अनुसार आगामी महाधिवेशनका लागि २ हजार १ सय ५४ जना प्रतिनिधि निर्वाचनमार्फत चयन भएका छन्। त्यस्तै १ सय ८ जना केन्द्रबाट मनोनीत हुने व्यवस्था मिलाइएको छ। मनोनीतसहित प्रतिनिधिको कुल संख्या २ हजार २ सय ६२ पुग्ने अधिकारीले जानकारी दिए।

 

यसैबीच, तत्कालीन नेकपा (एस) बाट ‘घरफर्क अभियान’ मार्फत पार्टीमा फर्किएका तीन जनाले पनि आफूलाई प्रतिनिधिमा समावेश गरिपाउन निवेदन दिएका छन्। उनीहरुको विषयमा अन्तिम निर्णय पार्टी सचिवालयले गर्ने बताइएको छ।

 

धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको प्रतिनिधि छनौटसम्बन्धी विवाद समाधान भइसकेको संगठन विभागले जानकारी दिएको छ। ती जिल्लामा प्रतिनिधि चयन अन्तरपार्टी निर्देशन १३ बमोजिम नभएको भन्दै केन्द्रले प्रक्रिया रद्द गरी पुनः मापदण्डअनुसार प्रतिनिधि चयन गर्न निर्देशन दिएको थियो। निर्देशनअनुसार दुवै जिल्लाबाट सर्वसम्मत प्रतिनिधि छानिएका छन्।

 

यसबाहेक अन्य तीन जिल्लाबाट प्रतिनिधि छनोटसम्बन्धी उजुरी परेको छ। मापदण्ड नपुगेका प्रतिनिधिका कार्ड नबनाइने स्पष्ट गर्दै अधिकारीले कतिपय निर्वाचित प्रतिनिधिका विषयमा पनि छानबिन भइरहेको बताए। उनका अनुसार हालसम्म ७० प्रतिशत भेरिफिकेसन कार्य पूरा भइसकेको छ।

 

महाधिवेशनमा बन्द सत्रका लागि प्रतिनिधि बाहेक ३ सय ५१ जना सल्लाहकार परिषद्का सदस्य पनि सहभागी हुनेछन्। ३७६ सदस्यीय परिषद् मध्ये २५ जना प्रतिनिधि निर्वाचित भइसकेकाले बाँकी सदस्यलाई सहभागीका रूपमा प्रवेश दिइनेछ। यसरी महाधिवेशनमा कुल २ हजार ६ सय १३ जना सहभागी रहनेछन्।

 

केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिहरुको परिचयपत्र छपाइको काम तीव्र गतिमा भइरहेको छ। हालसम्म ७० प्रतिशत कार्ड छपाइ सकिएको र बाँकी सबै कार्ड तथा प्रतिनिधि विवरण अद्यावधिक मंसिर २५ गतेभित्र पूरा गर्ने तयारी गरिएको संगठन विभागले जनाएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited