एसियन पेन्ट्सद्वारा एपीएफ महिला फुटबल टिमलाई विशेष प्रोत्साहन घोषणा
वि.सं.२०८२ मंसिर २५ बिहीवार
shares
काठमाडौं । एसियन पेन्ट्स नेपालले दशरथ रंगशालामा जारी साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा सहभागी एपीएफ महिला फुटबल टोलीको मनोबल वृद्धि गर्न विशेष प्रोत्साहनको घोषणा गरेको छ।
कम्पनीका अनुसार एपीएफ टोली फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त रू. १,००,००० (एक लाख) प्रोत्साहनस्वरूप प्रदान गरिनेछ। त्यस्तै, टोलीले प्रतियोगितामा हासिल गर्ने हरेक जितका लागि थप रू. २५,००० (पच्चिस हजार) उपलब्ध गराइने जानकारी दिइएको छ।
मंसिर १९ गतेदेखि पुस ५ गतेसम्म चल्ने यस च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला क्लब च्याम्पियन टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ११ खेल हुने प्रतियोगितामा प्रत्येक टोलीले ४ खेल खेल्ने तालिका एन्फाले सार्वजनिक गरेको छ।
एपीएफ महिला टिमलाई दिइएको उक्त प्रोत्साहनले खेलाडीको आत्मविश्वास वृद्धि गर्ने, सकारात्मक प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने तथा नेपालमा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको एसियन पेन्ट्सले जनाएको छ।































