वीर अस्पतालमा चोरको आतंकः बिरामी कुरुवाहरू हैरान
वि.सं.२०८२ मंसिर २६ शुक्रवार
shares
काठमाडौँ ।वीर अस्पतालमा पछिल्ला दिनमा मोबाइल फोन, पैसा तथा अन्य जिन्सी सामान चोरी हुने घटनामा तीव्र वृद्धि भएको छ । बिरामीका कुरुवाहरू अस्पताल परिसरमै लगातार चोरीको घटनाबाट त्रस्त भएका छन् । अस्पताल प्रशासन भने मौन बसिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
अस्पतालको नयाँ भवनमा चोरीका घटना बढी भएको विरमीका कुरुवाहरूले बताएका छन् । चोरी भएपछि सिसीटिभी फुटेज हेर्न माग गर्दा क्यामेरा छैन, बिग्रिएको छ भन्ने बहाना बनाइने गरेको छ ।
‘हामीलाई त कति चोरियो भनेर प्रमाण देखाउने अधिकार पनि छैन, उल्टै क्यामेरा नै चलेको छैन भन्छन्,’ एक कुरुवाले भने ।चोरीमा संलग्न व्यक्तिहरू बिरामी भेट्न आएका जस्तो गरी भीडमा मिसिने, कुरुवासँग सामान्य कुरा गर्ने र मौका मिल्नेबित्तिकै फोन वा पैसा चोरेर भाग्ने गरेको पीडितहरू बताउँछन् । राति वा दिनभरि थकित कुरुवा निदाएको समयमा यस्ता घटना झन् बढ्ने गरेका छन् ।
चितवनबाट दिदीको घाँटी अपरेशनका लागि आएका एक युवाले अपरेसन थिएटर बाहिर कुरिरहेकै अवस्थामा आफ्नो मोबाइल चोरी भएको बताए ।‘अप्रेशन भित्र भइरहेको छ, बाहिर बस्दा फोन हरायो । यस्तो संवेदनशील ठाउँमै चोरी हुनु भनेको प्रशासनको लापरवाही हो,’ उनले भने ।
पीडितका अनुसार, प्रशासनमा गुनासो लिएर जाँदा उल्टै कुरुवाहरूलाई नै दोष लगाइने गरेको छ ।हाम्रो काम त उपचार हो, सामान जोगाउनु तपाईँकै जिम्मेवारी भन्ने शैलीको जवाफ दिने गरेको उनीहरूले बताए । अस्पताल बाहिर पार्किङबाट एक कुरुवाको मोटरसाइकल समेत चोरी भएको घटनाले सुरक्षा व्यवस्थाप्रति झन् प्रश्न उठाएको छ ।
अस्पताल परिसरमा भएका चोरीका घटनाबारे उजुरी दिन जाँदा नेपाल प्रहरीले समेत फेला पर्ने सम्भावना न्युन छ भन्दै औपचारिकता मात्र पूरा गरेर फर्काइने गरेको पीडितको भनाइ छ ।लगातार बढिरहेका चोरीका घटनापछि बिरामी कुरुवा र आफन्तहरूले अस्पताल प्रशासन, सुरक्षा निकाय र प्रहरीलाई तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।
चोरी नियन्त्रण, सिसी क्यामेरा सञ्चालन, सुरक्षा गस्ती बढाउने र पीडितलाई सहयोग गर्ने प्रभावकारी व्यवस्था नहुँदासम्म अस्पतालमा सुरक्षा संकट देखिएको छ ।































