रोहित पौडेलको रणनीतिमा भरोसा, लुम्बिनी आज इतिहास रच्ने तयारीमा
वि.सं.२०८२ मंसिर २७ शनिवार
shares
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)–२ को उपाधि यसपटक लुम्बिनी लायन्सले जित्ने प्रबल सम्भावना देखिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
प्रतियोगिताको सुरुआतदेखि नै सन्तुलित प्रदर्शन गर्दै आएको लुम्बिनी लायन्स आत्मविश्वास, रणनीति र फर्मका हिसाबले फाइनलमा बलियो दाबेदारका रूपमा उभिएको छ। दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनल पुगेको लुम्बिनीको पछिल्लो प्रदर्शनले टोलीको मनोबल उच्च बनाएको छ।
रोहित पौडेलको नेतृत्व लुम्बिनीको बलियो पक्ष
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत भएकाले उनको नेतृत्व क्षमता, खेल पढ्ने क्षमता र दबाबमा निर्णय लिने अनुभव टोलीका लागि सबैभन्दा ठूलो शक्ति बनेको छ। अनुभवी ब्याट्सम्यान तथा भरपर्दो बलरसमेत रहेका पौडेलले मैदानभित्र रणनीतिक कप्तानीमार्फत खेलको गति नियन्त्रण गर्ने क्षमता देखाइसकेका छन्।
गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक भने पूर्ण रूपमा रुपान्तरित टोलीका रूपमा प्रस्तुत भएको छ। ब्याटिङ, बलिङ र फिल्डिङ—तीनै पक्षमा सन्तुलन देखिएको लुम्बिनी ‘डार्क हर्स’बाट उपाधि दाबेदार बनेको हो।
सुदूरपश्चिममाथि दबाब
दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स अनुभवी टोली भए पनि फाइनलको दबाब उसकै विरुद्ध जाने देखिन्छ। गत वर्ष जनकपुर बोल्टससँग फाइनलमा पराजित भएको सुदूरपश्चिममाथि पुनः उपाधि गुमाउने मानसिक दबाब रहने सम्भावना छ।
यद्यपि लिग चरणको भेटमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो, तर फाइनल खेल सधैं फरक हुने क्रिकेट विश्लेषकहरूको भनाइ छ। नकआउट चरणमा लुम्बिनीले देखाएको लय र आत्मविश्वास सुदूरपश्चिमका लागि चुनौतीपूर्ण बन्न सक्छ।
ट्रफी जित्ने स्पष्ट लक्ष्य
लुम्बिनी लायन्स यसपटक “जसरी भए पनि ट्रफी” भित्र्याउने लक्ष्यसहित मैदान उत्रिएको छ। टोलीका ब्याट्सम्यानहरू निरन्तर रन बनाइरहेका छन् भने बलरहरूले विपक्षीलाई दबाबमा राख्ने क्षमता देखाएका छन्। फाइनल जस्तो ठूलो खेलमा अनुभव, संयम र रणनीति निर्णायक हुने देखिन्छ, जहाँ लुम्बिनी अगाडि देखिएको छ।
पुरस्कार राशी
एनपिएल–२ को विजेताले १ करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको लुम्बिनी लायन्स यसपटक नेपाल प्रिमियर लिग–२ को उपाधि जित्ने प्रबल दाबेदारका रूपमा हेरिएको छ।
क्रिकेट प्रेमीहरूका लागि आजको फाइनल खेल केवल उपाधिको भिडन्त मात्र नभई नेपाली क्रिकेटमा नयाँ च्याम्पियन जन्मिने क्षण बन्न सक्ने अपेक्षा गरिएको छ।































