अर्थमन्त्रीलाई भेट्न नपाएपछि जेनजी घाइतेहरूको सिंहदरबार पश्चिम गेटमा धर्ना
वि.सं.२०८२ मंसिर २८ आइतवार
shares
काठमाडौं । विभिन्न मागसहित अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार पुगेका ‘जेनजी’ घाइते समूहले प्रवेश पास नपाएपछि आइतबार सिंहदरबारको पश्चिम गेटमा धर्ना दिएका छन्। सुरक्षाका कारण देखाउँदै प्रवेश निषेध गरिएपछि उनीहरू गेट अगाडि बसेर शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका हुन्।
जेनजी घाइतेहरूले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूका लागि निष्काशन गरिएको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। उनीहरूले सो आईपीओमा गम्भीर अनियमितता र स्वार्थ समूहको प्रभाव रहेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रदर्शनकारीहरूले धितोपत्र बजारसँग सम्बन्धित विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने, छानबिन नसकिँदासम्म धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई तत्काल निलम्बन गर्नुपर्ने माग अघि सारेका छन्। छानबिनबाट दोषी ठहरिएमा सम्बन्धित व्यक्तिहरूलाई तत्काल बर्खास्त गर्दै भ्रष्टाचारमा संलग्न सबैलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।
धर्नामा सहभागी घाइतेहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पसिनाबाट संकलित लगानीलाई शोषण गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाउँदै राज्यले श्रमिकको हित रक्षा गर्न गम्भीर भूमिका खेल्नुपर्ने बताएका छन्। उनीहरूले आफूहरूको आन्दोलन राजनीतिक नभई न्याय र पारदर्शिताका लागि भएको दाबी गरेका छन्।
प्रदर्शनका क्रममा केही समय सिंहदरबार पश्चिम गेट क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो। धर्ना शान्तिपूर्ण रहे पनि प्रवेश निषेध गरिएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले सरकारको ध्यानाकर्षण गराउन नाराबाजीसमेत गरेका थिए।
सरकार वा अर्थ मन्त्रालयको तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने आइसकेको छैन। जेनजी घाइते समूहले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

































