दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ
वि.सं.२०८२ पुस ७ सोमवार
shares
विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका दुई क्यासिनोमा प्रहरीले आइतबार राति छापा मार्दा २० जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगरस्थित गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा छापा मारेको हो । छापाका क्रममा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध रहे पनि उनीहरूलाई प्रवेश गराई जुवाजन्य खेल खेल्न दिइएकाले पक्राउ गरिएको हो । “क्यासिनोमा नेपाली प्रवेश गर्न नपाउने कानुनी व्यवस्था छ । त्यसको उल्लंघन भएको देखिएकाले व्यवस्थापकसहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,” एसपी कटवालले बताए ।
पक्राउ परेकामध्ये केहीले आफू कर्मचारी भएको दाबी गरेकाले उनीहरूको परिचयपत्र जाँच (स्क्रिनिङ) प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ । स्क्रिनिङपछि मात्रै कसकसविरुद्ध मुद्दा चल्ने भन्ने यकिन हुने प्रहरीको भनाइ छ ।
प्रवेश निषेध गरिएको क्यासिनोमा नेपाली नागरिकले निर्बाध रूपमा जुवाजन्य खेल खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको एसपी कटवालले जानकारी दिए ।




























