भ्रष्टाचार मुद्दामा एमाले नेता नन्दसिंह बुढा दोषी ठहर
वि.सं.२०८२ पुस ९ बुधवार
shares
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालत काठमाडौँले उनीसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा गत असार १९ गते बुढासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरिएको थियो ।
उक्त मुद्दामा तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढालाई समेत प्रतिवादी बनाइएको थियो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संक्षिप्त फैसला सुनाउँदै नन्दसिंह बुढा र संगीता बुढालाई दोषी ठहर गरेको हो । उनीहरूलाई जनही १ लाख ९० हजार रुपैयाँ जरिवाना र साढे एक वर्ष कैद सजाय सुनाइएको छ ।
पछिल्लो समय नन्दसिंह बुढा डोल्पाबाट नेकपा एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि समेत बनेका थिए ।
































