अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
वि.सं.२०८२ पुस १६ बुधवार
shares
काठमाडौं । अवैध लागूऔषध कारोबारविरुद्धको कारबाहीका क्रममा प्रहरीले काठमाडौंसहित विभिन्न जिल्लाबाट ६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १२ किलो ७ सय ५० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय नियाज (NIYAJ) सोमबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागूऔषध फेला पारेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ बडराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्रामसहित सोही स्थानका २८ वर्षीय मनोज रानासहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरू प्रयोग गरेको से.५ प ३५६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
कैलालीकै टिकापुर नगरपालिका–८ सत्तीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्रामसहित बर्दगोरिया गाउँपालिका–५ का ३६ वर्षीय दिवाकर रैसाललाई सोमबार साँझ पक्राउ गरिएको छ । उनी सु.प.प्र. ०२–००४ प १९८८ नम्बरको मोटरसाइकलमा सवार थिए ।
त्यसैगरी झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्रामसहित सोही स्थानका ४३ वर्षीय रूपेन राजबंशी सोमबार दिउँसो पक्राउ परेका छन् । प्रहरीले उनले प्रयोग गरेको ना.४ प ३० नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ पवित्रबस्तीमा डेरा गरी बस्दै आएका डडेलधुरा आलिताल गाउँपालिका–७ भाँडी घर भएका २९ वर्षीय कर्ण बहादुर बोहरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्रामसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागूऔषधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




























